कोरोना लागेका भीआईपीहरू

जन आस्था
५ बैशाख २०७७, शुक्रबार १७:३७
[post-views]

कोरोना भाइरस गत डिसेम्बरमा चीनको वुहानमा पुष्टि भएको एक सय दिन नाघेको छ । शुरुमा चीनमा मात्रै देखिएकोले यो भाइरसबाट चिनियाँ मात्र आक्रान्त हुने पश्चिमा मुलकहरूको अफवाहमा केही समयसम्म उनीहरूकै नागरिक पनि  मख्ख परे । दुई दशकअघि चीनमा देखिएको सार्स रोगसँग तुलना गर्दै कोरोना संक्रमणलाई पश्चिमा राष्ट्रहरूले शुरुका दिनमा त्यत्तिविघ्न महत्व दिएनन् । आजसम्म २१ लाख ८४ हजार भन्दाबढी नागरिक कोरोनाबाट संक्रमित भएका छन् भने १ लाख ४६ हजार भन्दाबढीले ज्यान गुमाएका छन् । यसबीचमा ५ लाख ५३ हजार भन्दाबढीले कोरोनालाई पराजित गरेर स्वास्थ्यलाभ पनि गरिसकेका छन् ।

इतिहासलाई केलाउने हो भने महामारीले कुनैपनि जात, धर्म, लिङ्ग, वर्ग र पेशाका मानिसलाई बाँकी राखेको पाईंदैन । कोरोना संक्रमणले पनि विश्वका ठूला पदमा रहेकादेखि निमुखा सर्वसाधारणलाई समेत लपेटेको छ । अहिलेसम्म ७१ वर्षीय युवराज चार्ल्स, ५५ वर्षीय बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, उनको सरकारका स्वास्थ्य मन्त्रालयका एकजना मन्त्री र सोही मन्त्रालयका सचिव माथ्वी हान्कुकलाई कोरोना संक्रमण भएको छ । त्यसैगरी, प्रधानमन्त्री जोन्सनको मन्त्रीमण्डलका सदस्य तथा स्कटल्याण्डका सचिव एलिस्टर ज्याक पनि संक्रमित भएका छन् ।

इरानी उपराष्ट्रपति मासौमेह एब्टेकर

उता, मोनाकोका राजकुमार अल्बर्ट द्वितीय, इरानका उपराष्ट्रपति मासौमेह एब्टेकर र संसदका सभामुख अलि लारिजानी एवम् उपस्वास्थ्य मन्त्री इकराज हारिरचीलाई पनि कोरोनाको प्रकोपले भेटेको छ । कोरोना संक्रमित भएका उच्चपदस्थ व्यक्तिहरूको सूचीमा स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भो, नाइजेरियन राष्ट्रपतिका चिफ अफ स्टाफ अब्बा क्यारी, अमेरिकाको केन्टकी राज्यका रिपब्लिकन सिनेटर र्याण्ड पौल, युरोपेली युनियनको मुख्य बे्रक्जिट वार्ताकार माइकल बार्निएर रहेका छन् ।

दक्षिण अमेरिकी देश ब्राजिलमा पनि धेरैजना उच्च अधिकारीहरू कोरोनाको संक्रमणमा परेका छन् । त्यहाँका खनिज तथा ऊर्जा मन्त्री बेन्टो अलबुकेर, राष्ट्रिय सुरक्षा सल्लाहकार अगुष्टो हेलेनो, राष्ट्रपति बोल्सोनारोका प्रेस सचिव फाबियो वाजगार्टेन मुख्य देखिएका छन् । त्यसैगरी जर्मनीका लागि इजरायली राजदूत जेरेमी इसास्रोफ, जर्मनीको क्रिस्चियन डेमोक्रेटिक युनियन दलको भावी अध्यक्षका दावेदार फ्रेडरिक मर्ज, जापानको फुटबल संघका अध्यक्ष कोजो टाशिमा, अष्ट्रेलियाका आन्तरिक मामिला मन्त्री पिटर डुटोन, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोर ट्रुडो र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजकी श्रीमती बेगोना गोमेज पनि संक्रमितको सूचीमा परेका छन् ।

इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिट्जम्यान

स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लिसिस र उनकी श्रीमती इरेना मोन्टेरो जो स्पेन सरकारकी मन्त्री समेत हुन् उनीहरू दुबैलाई कोरोना भाइरसले छोएको छ । स्पेनकै क्याटलन राज्य सरकारका उपप्रमुख पेरे एरागोन्स, फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रियस्टर, अमेरिकाको मियामी नगरका मेयर फ्रान्सिस सुआरेज, पोल्याण्डका वातावरण मन्त्री माइकल ओस, बुर्किनाफासोका चारजना मन्त्रीहरूमा क्रमश, खनिज मन्त्री ओमारोउ इदानी, शिक्षा मन्त्री स्टानिस्लास औरो, आन्तरिक मन्त्री सिमोन स्वादोगो, विदेश मन्त्री अल्फा बेरी, नाइजेरिको ओयो राज्यका गभर्नर सेयी माकिन्दे, इजरायलका स्वास्थ्य मन्त्री याकोभ लिट्जम्यान र उनकी श्रीमती कोरोना भाइरसबाट संक्रमित भएपछि एकान्तबास (Isolation) मा बसेका हुन् । उत्तरी मेसिडोनियाको दुई ठूला राजनीतिक दलका नेताहरू जोरान जायेभ र ह्रिस्तिजान मिकोस्की दुबैजनालाई भने एकजना टेलिभिजन संवाददातालाई अन्तर्वार्ता दिने क्रममा कोरोना भाइरस सरेको थियो ।

कोरोना भाइरसको संक्रमणमा उच्च राजनीतिक तथा सरकारी अधिकारीहरू मात्र होइन विलासी जीवन बिताउने प्रख्यात सेलिब्रेटीहरू पनि परेका छन् । जसमा मुख्यगरी हलिउडका प्रख्यात जोडी टम ह्यान्कस र रिता विल्सन, फ्रान्सकी प्रख्यात नायिका ओल्गा कुरिलेन्को, बेलायतकी प्रख्यात नायिका तथा संगीकार इद्रिस इल्बा, नर्वेका प्रख्यात नायक क्रिस्टोफर हिब्जु, दक्षिण कोरिया र अमेरिकामा लोकप्रिय नायक डानियल दाय किम छन् । त्यसैगरी स्पेनिस अपेरा गायक प्लेसिडो डोमिङ्गो, अमेरिकी रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता एण्डी कोहेन, सीएननका समाचार प्रस्तोताद्वय ब्रुक बाल्दवीन र क्रिस कुमो तथा अमेरिकाकै गायिका पिन्क पनि कोरोनाको भाइरसको संक्रमणबाट उम्कन सकेनन् ।

स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भो

विश्वका प्रख्यात खेलाडी तथा तिनका विभिन्न क्लब र समूहका अधिकारीहरूलाई पनि हालको संक्रमणले अछुतो राखेन । यसमा हालसम्म संक्रमित भएका धेरैजनामध्ये मुख्यगरी बेलायतका फुटबल खेलाडी नोरमान हण्टर, अमेरिकी हकी लिगका प्रख्यात तथा न्यूयोर्क निक्सका मालिक जेम्स डोलान, र टर्किको राष्ट्रिय बक्सिङ्ग टिमका सदस्य सेरहाट गुलेर देखिएका छन् । उता, कोरोनाको ब्यापक प्रकोप भएको इटालीमा त्यहाँको एट्लाण्टा फुटबल क्लबका गोलरक्षक मार्को स्पोर्टियलो, इटालीको राष्ट्रिय फुटबल टिमका खेलाडी डानियल रुगानी, अमेरिकी राष्ट्रिय बास्केटबल संघका खेलाडी जेसन कोलिन्स, स्पेनको विभिन्न फुटबल क्लबका १५ जना खेलाडी, फ्रान्सका फुटवल खेलाडी ब्लेज मातुइदी, कोलम्बियाका प्रख्यात साइक्लिस्ट फर्नान्डो गाबिरिया र लिभरपुलका पूर्व खेलाडी तथा हालका टिम मेनेजर सर केन्नी डाल्गिसलाई पनि कोरोना संक्रमणले छोएको छ ।

कोरोना संक्रमितमध्ये धेरैले स्वास्थ्यलाभ पनि गरेका छन् । तर, संक्रमित केही ठूलाबडा र विख्यात व्यक्तिले भने यसबाट आफ्नो जीवन पनि गुमाएका छन् । यसरी ज्यान गुमाएकाहरूमा सोमालियाका भूतपूर्व प्रधानमन्त्री नूर हसन हुसेन, त्यहिँको हिरशेबेले स्वायत्त राज्यका न्याय मन्त्री खालिफ मुमिन टोहो मुख्य देखिएका छन् । उता, टर्किस इन्डिपेण्डेण्ट पार्टीका नेता हैदर बास, हंगेरीस्थित बेलायती दूतावासका उपप्रमुख स्टेभेन डिक, सर्वियाको वातावरण संरक्षण मन्त्रालयका सचिव ब्रानीस्लाभ ब्लाजिक, क्यामरुनका विख्यात जाज संगीतज्ञ मानु डिबाङ्गो, स्पेनको सबैभन्दा ठूलो बैंक सान्तान्देरको पोचुर्गिज इकाइका अध्यक्ष एन्टोनियो भिएरा मोन्टेरो, जापानका विख्यात हास्यकलाकार केन शिमुरा, बेलायतको लानक्यासर क्रिकेट क्लबका अध्यक्ष डेभिड होड्गिश र चिलीका प्रख्यात लेखक लुइस सेपुल्वेदाको कोरोनाबाट जीवनलीला समाप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*