रातिराति थाल ठटाउँदा भाग्छ कोरोना ?

कैलालीका पाँच स्थानीय तहका बासिन्दाले कोरोना भगाउन भन्दै आइतबार राति थाल ठटाए, बत्ती बाले र आगो सल्काए
जन आस्था
२४ चैत्र २०७६, सोमबार १२:००

कोरोना हटाऊ भन्दै कैलाली सदरमुकामको पूर्वी भागमा अइतबार राति थाल ठटाउने, बत्ती बाल्ने र आगो बाल्ने काम भएको छ । टीकापुर र लम्कीचुहा नगरपालिका, बदगोरिया, जोशीपुुर, जानकीनगर गाउँपालिकाका गाउँगाउँमा आइतबार राति ७ बजेदेखि शुरु भएका यस्ता क्रियाकलाप पटकपटक गरेर १० बजेसम्म जारी थियो ।

केहीले ७ बजे थाल ठटाउने, बत्ती बाल्ने र आगो बाल्ने काम गरेका भए पनि अधिकांशले ९ देखि १० बजेको समयसम्म त्यस्ता क्रियाकलाप गरेका थिए । कोरोना संक्रमण हुन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने स्वास्थ्यकर्मीको सल्लाह भए पनि गए राति कैलालीमा त्यो दूरी तोडिएको छ ।

लम्कीचुहामा नगर क्षेत्रको पूर्वपश्चिम राजमार्गमा सयौ मानिस स“गै निस्केर थाल ठटाउ“दै कोरोना भगाऔ भन्ने नाराबाजी गरेका थिए । ९ देखि १० बजेको समयमा त थाल ठटाइ“दा चर्को ध्वनी प्रदूषणसमेत आएको थियो । यसरी थाल ठटाउनका लागि कतै सल्लाह भएको वा कसैले आह्वान गरेको थिएन । थाल ठटाउने काममा थारु र पहाडी समुदाय आ–आफ्नै तरिकाले जुटेका थिए । थारु समुदाय बढी व्यवस्थित देखिन्थ्यो ।

यसअघि पनि कैलालीमा घरको आ“गन खन्दा कोइला भेटिन्छ, त्यो कोइला वा त्यसको खरानी निधारमा लगाउ“दा कोरोना लाग्दैन भन्ने लहड एक रातभर चलेको थियो । त्यो अन्धविश्वासको लहड कैलाली जिल्लाभर चलेको थियो । विभिन्न ठाउँमा रहेकाले कैलालीमा फोन गरेर त्यस्तो गर्न सिकाएका थिए ।

थाली ठटाउनुका चार कारण

एक : नेपालीहरु भारतीय टेलिभिजन धेरै हेर्छन् । उता नरेन्द्र मोदीले दियो बाल्ने भनेका थिए । लकडाउन सुरु गर्दा थाली पनि ठटाउन लगाएका थिए । त्यसैको प्रभाव कैलालीमा परेको देखिन्छ ।
दुई : काठमाडौंको पशुपति क्षेत्रबाट जोतिषहरुले धेरैको म्यासेन्जरमा एउटा भिडियो पठाएका छन् । जसमा भनिएको छ, आइतबार शुक्ल त्रयोदशी तिथि रविप्रदोश परेको छ । आज चन्द्रमा सिंह राशीमा प्रवेश गर्नेछ । आइतबारको दिन प्रदोश तिथि परेमा असाध्यै राम्रो हुनाले सन्ध्याकालीन समयको ७ बजेर ७ मिनेटदेखि ९ बजेर ९ मिनेटसम्म दिपप्रज्वलित गर्दा विश्व शान्तिमा मद्धत पुग्नेछ । सो मुहूर्तमा घर वा देवालयमा दीप प्रज्ज्वलन गर्दा कल्याण हुनेछ ।
तीन : कैलालीका केही ठाउँमा खासगरेर पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको दुधवा नेशनल पार्कबाट हात्ती आएर नेपालको बालीनाली विगारिरहेका हुन्छ । त्यसैले केही मानिसले पूर्वी भागमा थाल ठटाएर हात्ती भगाउन खोजेको बताइन्छ ।
चार : देखासिकी । केहीले मोदीको सिकेर बजाए । केहीले पशुपति क्षेत्रको भिडियो सुनेर बजाएका भए पनि चौथो पक्षले भने अरुको देखासिकीमा थाल ठटाउने, बत्ती बाल्ने र आगो बाल्ने काम गरेको भेटिएको छ ।

जनप्रतिनिधिले भने– यो अन्धविश्वास हो

राति थाल ठटाउने, बत्ती बाल्ने र आगो बाल्ने कामलाई जनप्रतिनिधिहरुले अन्धविश्वास हो भनेका छन् । लम्कीचुहा नगरपालिका र टीकापुर दुईवटै नगरका प्रमुख सत्तारुढ नेकपाका हुन् । लम्कीका महादेव बजगाईंले राति ९ः३४ मा फेसबुकवालमा लेखेका छन्, कति अन्धविश्वास मानिसमा । कहिले कोइला काण्ड, कहिले आकाशबाट जलेको पराल, आज फेरि थाल ठटाउने । हामी सुदूरपश्चिमवासीलाई त्यसैले त हेप्दा रहेछन् अरु ठाउँका मानिसले । यो कार्यमा धेरै बुझकरकै भूमिका ।
टीकाकापुरका मेयर तपेन्द्र रावलले पनि राति १०ः ४३ मा फेसबुकमा लेखेका छन्, ‘म गद्दो आगराका कुरा, साई गद्दी घाघरका कुरा । आजको टीकापुरको थाल ठट्टाई धन्य हाम्रो चेतना ।’

चार जनामा संक्रमण

सुदूरपश्चिम प्रदेशमा नेपालमै सबैभन्दा बढी चारजनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा संक्रमण देखिएको हो । तीमध्ये दुई जना भारतबाट र एकजना संयुक्त अरब इमिरेट (यूएई) को दुबईबाट आएका हुन् भने एक जनालाई दुबईबाट आएका नेपालकै चौथो संक्रमितबाट सरेको देखिन्छ । नेपालबाहिर नगएर नेपालमै कोरोना लागेकी उनी पहिलो महिला हुन् ।

कैलालीको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय युवा भारतको मुम्बइबाट आएका हुन् । निकै गरिब परिवारका अविवाहित ती युवा १२ वर्षको उमेरदेखि मुम्बई जान थालेका थिए । कञ्चनपुरको बेदकोट नगरपालिका १० का ४३ वर्षीय पुरुष पनि मौसमीरुपमा उत्तराखण्डतिर गएर ज्यालादारी काम गर्थे । लम्की र वेदकोटका दुवै पुरुष दलित समुदायका हुन् ।

नेपालको चौथो संक्रमित ३४ वर्षीय पुरुष पुख्र्यौली अवस्था राम्रो भएका ठकुरी परिवारका हुन् । यद्यपि उनी चार वर्षदेखि दुबई गएका थिए । सगोल परिवारमा भएकाले उनीबाट भाउजूमा संक्रमण सरेको अनुमान छ ।

सुदूरपश्चिममा फागुन अन्तिम सातादेखि अहिलेसम्म भारतबाट मात्रै सुदूरपश्चिमका विभिन्न नाका भएर एक लाख ४३ हजार नेपाली घर फर्किएका छन् । तीमध्ये प्रायः सबै सुदूरपश्चिमकै हुन् । त्यसलै देशबाहिरबाट आउनेहरुबाट कोरोना भाइरस फैलिन नदिनका लािग स्थानीय तहमा क्वारेन्टाइनहरु बनाइएको छ ।

कोरोनाका संक्रमितलाई धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने गरिन्छ । त्यहाँ २३ वेड आइसोलेसन कक्ष छन् । महाकाली अस्पताल भीमदत्तनगरमा पनि १५ बेड छन् । नौ वटै जिल्लामा जतासुकै कोरोना संक्रमित भेटिए पनि सेतीमै ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ । त्यसअनुसार कैलालीका तीन र कञ्चनपुरको एक गरेर चार कोरोना संक्रमितको उपचार सेतीमा भइरहेको छ ।

सेतीलाई संघीय सरकारले एउटा कारोना पुष्टी गर्ने उपकरण दिएको छ । भने सेती, डोटी र बैतडी अस्पतालका लागि तीन वटा उपकरण प्रदेश सरकारले किन्दैछ । प्रदेश सरकारले ४० करोडको उपचार कोष बनाएको छ । यस्तै गरेर ८८ वटै तहलाई पनि तीन करोड र सामाजिक विकास मन्त्रालयबाट खर्च गर्नका लागि ११ करोड ५० लाख निकासा भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*