कोरोनामाथि पशुपतिनाथको फण्डा, युवाले बोक्लान् त विद्रोहको झण्डा ?

जन आस्था
२० चैत्र २०७६, बिहीबार १३:००

नेपाल धेरै दृष्टिकोणले अचम्मको देश त हुँदै हो, कोभिड– १९ (कोरानो भाइरस) को विश्वव्यापी संक्रमणसँग पनि यसका केही उदेकलाग्दा र अचम्मका मामिला प्रकट हुन थालेका छन् ।

नेपालमा अहिलेसम्म घोषित रुपमा कोभिड संक्रमित नागरिकको संख्या पाँच, पूर्णतः स्वास्थ्यलाभ गर्ने एक र आइसोलेसन वार्डमा उपचाररत संख्या चारमा छ । तर, यतिमै ढुक्क भइहाल्नुपर्ने वा यी चार विरामी घर फर्किएपछि कोरोना सकियो भनेर ढुक्क हुनुपर्ने स्थिति भने छैन । संक्रमणको खतरा विद्यमान रहने देखिन्छ । किनभने, नेपालमा कोभिड– १९ परीक्षणका कीटहरु बल्ल चीनबाट आएका छन् । यसअघि नेपालले कोरोना सम्भावित समुदायमा समूहवद्ध परीक्षण गर्न सकेको थिएन । समयमै लकडाउन हुनुका कारण संक्रमण त्यति धेरै फैलिन नपाएको सत्य हो । तर, यसो भनेर अहिलेसम्म घोषित संक्रमित पाँचजना मात्रै हुन् वा योभन्दा एउटा पनि संख्या थपिँदैन भन्ने कुराको सुनिश्चितता भएको होइन । अहिले प्रदेशस्तरमा भइरहेको परीक्षणमा संक्रमित थपिन पनि सक्छन् । तर, आशा गरौँ कि त्यो संख्या नथपियोस् ।

एकातिर देशको हालत यो छ । अर्कातिर छिमेकी मुलुक भारतबाट नेपाल छिर्नेहरुको अचम्मलाग्दो बुझाई छ कि, ‘नेपाल पशुपतिनाथको देशको । पशुपतिले जोगाइहाल्छन् ।’

नेपालको भारतीय सीमावर्ती क्षेत्रका जनताको भारतीय समुदायसँग ‘रोटी और बेटी’ को सम्बन्ध छ । अर्थात्, सघन सम्बन्ध र सहज सीमा व्यवस्थाका कारण अहिले थुप्रै भारतीय नागरिक नेपालका सीमावर्ती जिल्लामा प्रवेश गर्ने ताँती छ । कपिलबस्तुसहित देशका सबैजसो तराईका जिल्लामा पशुपतिनाथको पुकारा गर्दै भारतीयहरु भित्रिएका छन् । त्यसरी भित्रिने भारतीयहरुको भिडले संक्रमण फैलिएला भनी वीरगञ्जको महेन्द्र विन्देश्वरी क्याम्पसमा ताला लगाएर पारीबाट फर्किनेहरुलाई थुनिएको छ । तर, साँच्चै नै पारीबाट संक्रमितहरु भित्रिएका भए त्यसरी ताला नै लगाएर थुनिनु पनि समाधान हुँदैन । किनभने, यदि संक्रमण भित्रिएको मात्रै छ भने त्यो एक, दुई गर्दै सर्वत्र फैलिन कुनै समय लाग्दैन । इटाली र अमेरिकी जनता संक्रमित भएको स्तरलाई हेर्दा पनि त्यस्तो बुझ्न सकिन्छ । यससँगै यो संक्रमणसँग देशी र विदेशी राजनीतिक परिदृश्यमा पार्ने असर उत्तिकै महत्वपूर्ण छ ।

कोभिड– १९ को विश्वव्यापी संक्रमणपछि संसारभरको अर्थ व्यवस्था, सामाजिक संरचना र मुलुकहरुका बीचका सम्बन्धको स्थित हिजोको जस्तो रहला ? अब सर्वत्र प्रश्न यो हो । अनि, विश्वको अर्थतन्त्रमा पर्ने प्रभावसँग नेपालको सम्बन्ध कति रहन्छ ? त्यसले नेपाली समाजको विद्यमान आर्थिक, सांस्कृतिक र सामाजिक सम्बन्धहरुमा कस्तो प्रभाव पार्ला ? यो कोणबाट अब केही आंकलन (प्रिडिक्सन) हुन थालेका छन् ।

नेपालमा राजनीतिक तहबाट यो संक्रमणका बेला जनताबीच जाने तदारुकता विदेशको तुलनामा शून्यप्रायः देखिन्छ । नेपालभन्दा कैयौँ गुणा बढी संक्रमित मुलुक अमेरिकाका नेताहरु विहानदेखि राति अबेरसम्म जनताबीच जानमै व्यस्त छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न माध्यमबाट जनताको प्रत्यक्ष सम्पर्कमा छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङ आफैँ कोरोना अतिप्रभावित प्रान्त उहानमा पुगे, पैदल हिँडेरै त्यहाँका जनतालाई ढाडस दिए । बेलायती प्रधानमन्त्री आफैँ कोभिड– १९ बाट संक्रमित छन् । तर, उनी त्यहाँका जनतासँग टेलिकन्फरेन्समार्फत सम्पर्कमा छन् । यता नेपालमा प्रधानमन्त्री विरामी हुनुहुन्छ । उहाँलाई जहाँतहीँ हिँड्ने छूट उहाँकै स्वास्थ्यस्थितिले दिँदैन । तर, जनताबीचमा विभिन्न वैकल्पिक माध्यमबाट नियमित प्रस्तुत भइदिनुभएको भए त्यो फलदायी हुने नेकपा नेताहरुको सुझाव छ ।त्यसमाथि पार्टीभि त्र भद्रगोल छ, आन्तरिक राजनीतिको ।

एकीकरण भएको दुई वर्षपछि गत माघमा केन्द्रीय कमिटी बैठक बस्यो । त्यसले १० दिनभित्र एकीकरणका बाँकी काम टुंग्याउने भन्यो । प्रचण्डले पहिला ६ महिने अभियानको प्रस्ताव गर्नुभएकोमा तीन महिने बनाइयो । सदस्यता नवीकरण भएको छैन । अभियानका दौरानमा नवीकरणका काम गर्ने भनियो, त्यो पनि ठप्प छ । अर्थात्, एउटा राजनीतिक दलको ‘लाइफ लाइन’, अर्थात् कार्यकर्ता तहसँग सम्पर्क टुटेको स्थिति हो । केन्द्रका नेताहरु तलका कार्यकर्ता वा नेतासँगको सम्पर्कमा छैनन् । यस्तो स्थितिले एउटा राजनीतिक शक्तिलाई कहाँबाट कहाँ पु¥याउँछ ? विषय गम्भीर छ । र, कोरोनापछि नेपालको राजनीति के हुन्छ ? सबभन्दा गम्भीर प्रश्न यो हो । अहिले देशका ६० लाख मानिस वैदेशिक रोजगारीका सिलसिलामा देशबाहिर छन् । यो भनेको नेपालका कूल मतदाताको आधा संख्या हो । तिनले रेमिट्यान्स पठाउँथे, देश चल्थ्यो । अब चीनले पेट्रोलियम पदार्थको प्रयोग नगर्ने गरी वैकल्पिक उर्जाको प्रवद्र्धनमा जोड दिएको छ । यदि त्यसो भयो भने तेलका कुवाहरु सकिन्छन् । त्यसपछि नेपाली युवा खाडीमा जाने क्रम रोकिन्छ । ६० लाख भनेको युवा र स्वस्थ्य जनशक्ति हो । उनीहरु हाम्रै देशमा मेडिकल टेस्टेड भएर विदेश गएका हुन् । युवाहरुको बाहुल्यता भएको र रोजगारी अभाव भएका देशमा विद्रोह वा अस्थिरता बढ्ने खतरा बढी रहन्छ । किनभने, युवा भनेको विद्रोह, आन्दोलन गर्ने संवेदनशील उमेर हो । अब नेपालसँग ती युवालाई व्यवस्थापन गर्ने कार्यक्रम के छ ?

किनभने, अमेरिकीहरुले आंकलन गरेका छन् कि कोभिड– १९ को संक्रमणले मानिसहरुमा राष्ट्रियताको महसूस बढाएको छ । यसले मानिसका एक्लोपन हटेर परिवारमोह बढाएको छ । विदेशमा रहेका मान्छेलाई बसिरहेको हैन, आफ्नो देशको बढी चिन्ता छ । यसको फलस्वरुप अब कोरोना संकटपछि सीमाहीन रहेको युरोपियन युनियन अब सीमाबद्ध हुने सम्भावना बढेको छ । त्यसैले नेपालमा युवालाई व्यवस्थपन गर्न सकिएन भने नेपालमाजस्तो विद्रोह संसारमा कहीँ हुँदैन । माओवादी जनयुद्ध पछिल्लो समयमा वार्तामा आउनै पर्ने अवस्थामा पुग्नुका पछाडि युवाहरु नै कारक थिए । किनभने, युवा जनशक्ति सुत्ने अवस्थामा पुगे । एउटा लडाइँ भएपछि एकतिहाई जनसेना भाग्न थाले । त्यसपछि वार्तामा जानुपर्छ भन्ने निचोडमा नेतृत्व पुग्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*