मेडिकल माफियाले मनाए अप्रिल फुल

जन आस्था
१९ चैत्र २०७६, बुधबार १३:००

कोरोना भाइरसको प्रकोप रोक्न सरकारले ढिलै भए पनि सक्दो प्रयास गरिरहेको छ तर त्यही प्रयासलाई गलत प्रमाणित गराउन केही मेडिकल माफिया खुलेरै लागेका छन् ।

अप्रिल फुलको मौका छोपेर उनीहरूले मुलुकभित्रको स्वास्थ्य संकटलाई झन् अप्ठेरो बनाउन खोजेको देखिएको छ । सरकारले चीनको क्वाङ्चौबाट ल्याएको कोरोना भाइरससम्बन्धी स्वास्थ्य उपकरण, औषधि र परीक्षणसम्बन्धी किटको गुणस्तरमाथि स्वयं स्वास्थ्य मन्त्रालयले नै प्रश्न उठाएको सूचना आज एकैचोटि सर्वत्र प्रवाह गरिएको छ । कोरोनाको संक्रमण फैलिएर मुलुकभित्र हाहाकार मच्चिएमा अति महँगोमा औषधि, उपकरण र किट बेच्ने उद्देश्यले सामान लुकाएको गिरोहले फैलाएको गलत अफवाहलाई केही सञ्चारमाध्यमले समाचारसमेत बनाएका छन् । तर, मन्त्रालय स्रोतका अनुसार गत आइतबार बिहान नेपाल ल्याइएका ती सामान चीनमा बनेका सबैभन्दा उच्च गुुणस्तरमध्येका हुन् ।

केही सातापहिले स्पेनमा निजी कम्पनीहरूले पठाएको सामानको गुणस्तरमाथि प्रश्न उठेपछि चीनले अहिले १७ वटा कम्पनीलाई मात्र त्यस्तो सामान उत्पादन गर्ने र विदेश निर्यात गर्ने अनुमति दिएको छ । नेपालले ल्याएको सामान तिनै कम्पनीहरूको उत्पादन रहेको मन्त्रालयले स्पष्ट पारेको छ । केही दिनपहिले चीनको स्थलमार्ग हुँदै केही व्यापारीले ल्याएको र्यापिड डाइग्नोष्टिक टेष्टसँग सम्बन्धित सामान तिब्बत सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको भन्दै नेपाल निर्यातमा रोक लगाएको थियो । तर, क्वाङ्चौबाट विमान चार्टर गरी ल्याइएका सामान विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप भएको उसले स्पष्ट पारेको छ ।

मंगलबार मन्त्रालयका प्रवक्ताले तिब्बतमा रोकिएका सामानको प्रयोग र गुणस्तरको सम्बन्धमा उल्लेख गरेको प्रसंगलाई मेडिकल माफियाले बंग्याएर आज गलत सूचना प्रवाह गरेका थिए । यसरी अफवाह फैलाउनुको कारण चाहिँ सरकारले चीनबाट सामान मगाएपछि लुकाइएका सामान नबिक्ने डरले मेडिकल माफियाले आफ्नो सामान बिक्रीको रणनीति रहेको बुझिएको छ ।

यसैबीच, सरकारले कार्गो गरी मगाएको सामानमध्ये ओम्नी ग्रुपसँग महँगो मूल्यमा खरिद गरिएको भन्ने विषयमा स्वास्थ्य सेवा विभागले आवश्यक प्रक्रिया शुरु गरिसकेको बताइएको छ । कोरोना रोगको उपचारसँग सम्बन्धित सामान आयात गरेको उक्त ग्रुपसँग हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा बोर्ड पे्रसिडेण्ट युवराज शर्मासमेत मुछिएका छन् । शर्मा नेपाल सरकारले हालै गठन गरेको कोभिड–१९ उच्चस्तरीय समन्वय समितिअन्तर्गत क्वारेन्टाइन व्यवस्थापन उपसमितिमा सदस्य छन् । उनी हिसानका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*