पुलिसका दुःख : कोरोनादेखि करिअरसम्म

विश्वमणि सुवेदी

अहिले आममानिसलाई कोरोना संक्रमणविरुद्ध अनुशासित राख्न सडकमा दुरुस्तै ड्युटीमा देखिने प्रहरीका दुःख भने थुप्रै छन्, तर देखाउन मिलेको छैन । संक्रमणबाट पहिला आफू सुरक्षित हुनुपर्ने र अरुलाई सुरक्षित राख्न खेल्नुपर्ने भूमिकासँग स्वास्थ्यको निकै ठूलो जोखिम उनीहरुले व्यहोरिरहेका छन् । घोषित रुपमा त प्रहरीका सबैखाले सरुवा, बढुवा र तालिम त बन्द छन् । तर, कतिपय अति जरुरी बढुवा र सरुवाको तयारीबारे सूचना पाएका प्रहरीका दुःख फरक छन् ।

कोरोना कथा

नेपालमा अहिलेसम्म संक्रमित कोभिड– १९ (कोरोना भाइरस) का चारै विरामी भित्रिएको नाका हो, काठमडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । एउटा नमुना केस छ, दुःखको ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना संक्रमण फैलिएलगत्तै ड्युटी गर्न थालेका डिएसपी छन्, बालनरसिंह राणा । ड्युटीभरि मास्क र सेनिटाइजरको प्रयोग त मामुली भइहाल्यो । तर, ड्युटी सकिएपछि पनि उनका दुःख सकिँदैनन् । नेपालमा कोरोना संक्रमणको सबभन्दा खतरा ठाउँ मानिने विमानस्थल ड्युटी सिध्याएर जब डिएसपी राणा घर फर्किन थाल्छन्, अर्को दुःख त्यहीँबाट शुरु हुन्छ ।

विमानस्थल परिसरबाट बाहिरिनुअघि पत्नी रक्षालाई फोन गरेर आफू घर आउन लागेको खबर गर्छन् । खबर पाउनासाथ रक्षाले शुरुमा सानी छोरीलाई बाबुसँग तत्कालै भेट नहुने गरी लुकाउँछिन् । त्यसपछि एक भाँडो पानी तताएर पति घर पुग्नुअघि नै घरबाहिर राखिदिन्छन् । सँगै एउटा तौलिया पनि । अनि, आफू पनि भित्र लुक्छिन् ।

डिएसपी राणा घर पुग्छन् । तर, सीधै छिर्दैनन् । किनभने, उनी ‘पेट्रोलको खानी कुवेत’ भनेजस्तो ‘कोरोनाको नेपाली खानी एयरपोर्ट’ बाट घर फर्किएका हुन्छन् । शुरुमा शरीरभरिका लुगा फुकाल्छन् । सँगै तौलिया बेर्छन् । फुकालिएका लुगा भाँडोमा राखिएको तातोपानीमा हाल्छन् । त्यही तातो पानीले हात, खुट्टा र मुख एकसरो पखाल्छन् र सेनिटाइजर दलेर निर्वस्त्रप्रायः अवस्थामा घर छिर्छन् । तर, यति गर्दा पनि पत्नी र छोरीसँग उनको भेट हुँदैन । किनभने, साबुन पानीले हातदेखि शरीरका सबै भाग मिचीमिची धोएका हुँदैनन् । नुहाएपछि हिटरमा एकछिन् बस्छन् । अनि, बल्ल पत्नी र छोरीसँग उनको भेट हुन्छ ।

अहिले देशभर बालनरसिंह राणाजस्ता विभिन्न दर्जाका २६ हजार ८ सय २९ प्रहरी कोरोना संक्रमण रोक्ने ड्युटीमा छन् । आफू सुरक्षित हुन आफँै सजग हुनुबाहेक अर्को उपाय नभएको कोरोना संक्रमणबाट प्रहरीलाई पनि कसैले बनाइदिएर सुरक्षित हुने होइन । पूर्वसतर्कताका लागि सडकमा निस्किएका प्रत्येक प्रहरीलाई मास्क र सेनिटाइजरको व्यवस्था गरिएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले जनआस्थालाई बताए । यदि त्यस्ता प्रहरीलाई ड्युटीकै बेला स्वास्थ्यसम्बन्धी कुनै समस्या आएमा के गर्ने ? यो प्रश्नमा सहप्रवक्ता जोशी एकछिन अकमकाए, अनि भने, ‘नजिकैको स्वास्थ्य संस्थामा लैजाने, उपचार गर्ने ।’ त्यसमाथि त्यस्ता प्रहरीका लागि कुनै अतिरिक्त भत्ता वा सुविधाको व्यवस्था छैन ।

कोरोना संक्रमण फैलिएपछि प्रहरीले काठमाडौंको हकमा पाएको एउटा सुविधाजनक उपकरण हो, एरेष्ट एण्ड रेस्क्यु डिभाइस (मल्टि फङ्सनल पुलिस क्याचर फोर्क) । यसले नियन्त्रणमा लिनुपर्ने व्यक्तिलाई १० फिट परैबाट नियन्त्रणमा लिई गाडीमा हाल्न सकिन्छ । यो उपकरणबाट नियन्त्रणमा लिनुपर्ने व्यक्तिलाई चारकुने मुख खोलेर च्याप्ने र लगिन खोजिएको ठाउँ (गाडी वा हिरासत कक्ष) मा पुर्याइने गरिन्छ ।

प्रहरीको एउटा अर्को दुःख छ, जसलाई इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरीका डिएसपी धर्मराज भण्डारीको फेसबुक स्ट्याटसले पुष्टि गर्दछ । उनले शनिबार साँझ अपडेट गरेको स्ट्याटसअनुसार प्रहरीले कोरोना संक्रमितको आशंकामा कोही व्यक्तिलाई नियन्त्रणमा लियो । तर, ती व्यक्तिलाई कोरोना वार्ड (आइसोलेसन वार्ड) मा बुझाउन लगिँदा भर्ना लिन मानिएन । अर्थात्, प्रहरीले आफू संक्रमित हुने तहको जोखिम मोलेर शंकास्पद व्यक्ति अस्पताललाई बुझाउँछ । अस्पतालले भर्ना लिन मान्दैन ।

प्रहरीको यस्तो दुःखमा कसैले साथ दिइरहेका छैनन् । जबकी, जारी लकडाउनमा सडकहरु सुनसान छ, मात्र प्रहरी सक्रियताको कारणले । तर, ती प्रहरीलाई न अतिरिक्त भत्ताको व्यवस्था छ, न त ‘पिपिए’ भनिएजस्तो स्वास्थ्य सुरक्षाको ग्यारेण्टी ।

करिअरको कष्ट

प्रहरी प्रधान कार्यालयले चैत ६ गते सूचना प्रकाशित गरी सबै किसिमका तालिम तथा भर्ना छनौटका कामहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ । त्यसअघि इन्स्पेक्टर, असई, प्राविधिक तथा जनपदतर्फ प्रहरी जवानहरुको तालिम सञ्चालनमा थियो ।

यससँगै सरुवा र बढुवाजस्ता आन्तरिक प्रशासनिक कामहरु अघोषित रुपमा स्थगित छन् । तर, अति जरुरी पर्ने सरुवा, बढुवाजस्ता काम भने नरोकिने प्रहरीस्रोतले जनाएको छ । यसक्रममा महानगरीय प्रहरी बृत्त अनामनगरका डिएसपी कौशल बुढाथोकी एक वर्षका लागि स्टाफ कलेज तालिममा छनौट भएपछि त्यहाँ शुक्रबारको निर्णयअनुसार, आज आइतबारदेखि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) बाट डिएसपी हरि बस्नेत हाजिर भएका छन् ।

अहिले प्रहरीमा सबभन्दा बढी छटपटी चलिरहेको विषय छ, डिआइजी बढुवाको । डिआइजीको दरबन्दी घटाउने र यथावत राख्ने विषय अझै सुल्झिएको छैन । तर, डिआइजीको कमाण्ड रहने प्रहरीका सातवटा संवेदनशील युनिट ५० दिनदेखि नेतृत्वविहीन स्थितिमा छ । त्यसमध्ये प्रदेश २ बाहेक कुनै पनि प्रदेशमा प्रदेश प्रहरी प्रमुख छैनन् । सबभन्दा संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि डिआइजी छैनन् ।

गृह मन्त्रालय स्रोतका अनुसार, दरबन्दी थपघटबारे कोरोना त्रास सकिएपछि छलफल गर्ने गरी तत्काललाई सातदेखि १० जना डिआइजी बढुवाबारे तयारी चलिरहेको छ । डिआइजीको बढुवा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकबाट गर्नुपर्छ । सिफारिस गर्ने कि नगर्ने भनेर दिनहुँजसो गृहसचिव र प्रहरी महानिरीक्षकबीच छलफल चलिरहेको स्रोतको दावी छ ।

प्रहरीको जनपद समूहतर्फ जम्मा चारजना डिआइजी कार्यरत छन् । त्यसमध्ये प्रद्युम्नकुमार कार्की प्रदेश २ मा र विश्वराज पोखरेल उपत्यकाको कमाण्ड चलाइरहेका छन् । बाँकी रहेका निरजबहादुर शाही केन्द्रीय अनुसन्धान व्युरो र असार २५ गते अहिलेका महारनिरीक्षकसँगै रिटायर्ड हुने सूर्यप्रसाद उपाध्याय प्रधान कार्यालयमै छन् । यससँगै, एसएसपी बढुवाको अर्को सम्भावना पनि छ । एसएसपीको बढुवाचाहिँ प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव स्तरबाट हुन्छ ।

भन्ने कहाँ ? सुन्ने कसले ?

कुरा बढुवा र सरुवाको मात्रै छैन, न्याय–अन्यायको पनि छ । तर, यही कुरा अहिलेको स्थितिमा भन्ने कहाँ ? सुन्ने कसले ? यो कुराले उच्चपदस्थ प्रहरी अधिकारी तनावमा छन् । किनभने, भएजति शीर्षस्थ नेता होम क्वारेन्टाइनमा छन् । भेटघाट बन्द छ । भनसुन गराउनुपर्ने ठाउँमा कसैलाई प्रवेश छैन, त्यसमाथि आफूआफँै सबै कोरोनाले त्रस्त छन् । बढुवाको नम्बर पुगेर पनि अन्यायमा परिने चलन प्रहरीमा व्यप्त छ । यस्तो लकडाउनको बेला त्यही अन्यायको शिकार पो हुँइने हो कि भन्ने पिरले प्रहरीलाई गाँजेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*