सहुलियत खै त सरकार ? 

कोरोना कहरः भोकै मर्ने डर, खै सरकारको भर ?
जन आस्था
१६ चैत्र २०७६, आईतवार ०८:४४
[post-views]

कोरोना भाइरस फैलने त्रासमा लकडाउन गरिएका बेला अभावग्रस्त नागरिकलाई रोग लागेर भन्दा पनि भोकभोकै मर्नुपर्ने चिन्ता थपिएको छ । मुलुक लकडाउनमा जानुअघि नै विभिन्न मुलुकबाट फर्केकाहरुमा संक्रमण देखिन थालेपछि सर्वसाधारणमा त्रास बढ्दो छ । लकडाउनको छैठौं दिनसम्म पाँचौं संक्रमित भेटिएपछि गाउँ गाउँमा पुगेका लाहुरेहरुका कारण एकातर्फ रोगकै त्रास छ भने अर्कोतर्फ गरिबीको रेखामुनि रहेका जनता भोकले मर्ने डर छ । लकडाउनका बेला हुनेखाने वर्गभन्दा हुँदा खाने वर्ग बढी मारमा पर्ने हो। सडकमा निस्किए प्रहरीको लौरो खाईने डर, घरमा अन्न नहुँदा भोकै मरिने डर ।

अहिले नेपाल सरकारसँग कोषमा तीन खर्ब बजेट बचत छ तर यसबाट  राहत प्याकेजको काम पटक्कै भएको छैन ।

भरिया,मजदुरहरुलाई बरु कुनै व्यक्तिले चाउचाउ,बिस्कुट बाँडेको छ तर यतातिर राज्यको उपस्थिति छैन । सरकार कामभन्दा पनि घोषणा र बोलीमा केन्द्रित देखिन्छ । राहत कोषका नाममा घोषणाको प्रतिष्पर्धा बढि छ । प्रधानमन्त्रीले १० करोडको घोषणा गरेलगत्तै प्रदेश नम्बर दुईले २५ करोडको कोष घोषणा ग¥यो र सबै प्रदेशले त्यसैलाई पछ्याए ! यसरी कोषमात्र बनाउने तर काम नगर्ने प्रवृत्ति संघ र प्रदेश दुवै सरकारमा हावी छ । व्यापारी र धनाढ्यहरुको पैसा बोलकबोल पनि त्यस्तै हो । नागरिक अहिले सरकारको काम चाहन्छन् ।  जेठ १५ गते नयाँ बजेट ल्याउनुपर्छ । हालको विकास बजेटलाई समेत माहामारीको बेला प्रयोग नगर्ने हो भने एकातर्फ सरकारी बजेट फ्रिज हुने अर्कोतर्फ लकडाउनका कारण नागरिक खान नपाएर मर्ने स्थिति आउँछ । यतिबेला सरकार चनाखो हुनैपर्छ ।

लकडाउनका कारण अरु थप जोखिम पनि बढेको छ । शहरी क्षेत्रमा फोहोर संकलन रोकिएपछि दुर्गन्ध फैलन थालेको छ । घर घरको फोहोर नउठ्दा त्यसले अर्को महामारी फैलाउने डर उस्तै छ । उपत्यकाको फोहोर फालिने सिसडोल बन्द भएको छ । केही दिनअघि भारतीय सुपरस्टार अभिताभ बच्चनले एक भिडियो सन्देश जारी गर्दै झिँगाबाट कोरोना संक्रमणको जोखिम हुने बताए । नेपालमा झिँगाकै कारण हैजा र झाडापखालाले बर्षेनी मान्छे मर्छन् । सामान्य सिटामोलको अभावमा मर्ने त झन कति छन् ! यस्तो बेला विश्व नै आंतकित पार्ने कोरोना भाइरसको संक्रमण यदि एउटा मानिसमा भयो र त्यसले चेकजाँच गराएन भने अवस्था के होला ?

सुरुमा चिनियाँ भाइरस भन्दै खिसिट्युरीमा उत्रेको अमेरिका अहिले कोभिड १९ अर्थात कोरोना भाइरसकै कारण हायल कायल भएको छ । शनिवारमात्रै उसले २० खर्ब डलरको राहतसम्बन्धी कानुन बनाएर हस्ताक्षर भैसकेको छ । जुन अहिलेसम्मकै सबैभन्दा ठुलो राहत प्याकेज हो । विश्वका दुई सय मुलुक कोरोनाबाट प्रभावित छन् ।  छिमेकी मुलुक भारतमा पनि तीन महिनाका लागि सरकारले नागरिकलाई खुवाउने भनेको छ । उत्तरी छिमेकी चीनले त आफ्नो मुलुकमा कोरोनाको संक्रमण पुर्णरुपमा नियन्त्रणमा लिइसक्यो र अन्य मुलुकबाट संक्रमण भित्रिन नदिन बाह्य नाका बन्द गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले २५ प्रतिशत जनता गरिबिको रेखामुनी रहेको भन्दै रिक्सा,ठेला, चायवालाहरुलाई लकडाउन गर्न नसक्ने बताएका छन् । नेपालमा दिनभर मजदुरी गरेर बेलुकाको खाना जोहो गर्नेहरुलाई सरकारले अहिलेसम्म कुनै आश्वासनसम्म दिएको छैन। व्यक्तिगत रुपमा विभिन्न संघ,संसथाले केही सहयोग गरेपनि त्यो पर्यात छैन।

हाल नेपालमा भेटिएका संक्रमित सबै बाह्य मुलुकबाट आएकाहरु हुन् । तिनले गाउँ गाउँ लुकेर हिँड्ने तर चेकजाँच नगर्ने गरेको पाइएको छ । शनिवार मात्र संक्रमण पुष्टि भएकी बाग्लुङकी युवती लाज र डरले विदेशबाट आएको भन्ने ढाँटेर गाउँघरमा डुलेकी थिइन्। विदेशबाट कुन मितिमा कति जना र को आएका थिए भन्ने तथ्यांक सरकारले सार्वजनिक नगर्दासम्म गाउँ गाउँमा ती नागरिक लुकेर बसी संक्रमण फैलिने र स्थिति भयावह हुनेछ । अहिले भएको पनि त्यही हो । सरकारले विदेशबाट आएकाहरुको नाम सार्वजनिक गर्ने हो भने अरु सर्वसाधारणलाई सतर्क हुन र आफ्नो वरिपरि भएकाहरुलाई अस्पताल पु¥याउन सहयोग हुन्थ्यो । अहिले स्थानियले जानकारी दिएको आधारमा केही व्यक्तिलाई प्रहरीले गाउँ गाउँबा खोज्दै ल्याउने गरेको छ । तर तथ्यांक बिना नागरिकको सूचनाका आधारमा गरिएको यो काम पर्याप्त  छैन ।

पछिल्लो तीन महिनामा विदेशबाट आएका नागरिकलाई सरकारले सम्पर्कमा आउन, क्वारेन्टाइन र आइसोलेसनमा बस्न तत्काल कडा कदम नचाल्ने हो भने सानोे मुलुक नेपालका गाउँ गाउँमा यसले भयावह स्थिति ल्याउने निश्चित छ । किनभने गाउँ गाउँमा अहिले विदेशबाट आएका र शहरबजारबाट फर्केका मानिसहरु एकअर्कासँग नजिक भइरहेका छन् । गाउँमा गएकाहरुले न सामाजिक दूरी कायम गरेका छन् । न त क्वारेन्टाइनमा बसेका छन् ।

सरकारले मुलुक लकडाउन गर्नुअघि २५ जनाभन्दा बढि मानिस जम्मा नहुनु भन्ने उर्दी जारी ग¥यो तर आफै त्यसप्रति सजग भएन । अहिले देशका विभिन्न भागमा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई पक्रेर हिरासतमा राखिएको छ । समातेर थुन्नु अर्को जटिलता हो । एक मिटरको दूरी राख्न भन्ने अनि खोरमा लगेर भीडमा हालिदिने ? एकातर्फ देशैभर क्षमताभन्दा कैदीबन्दी भएको र बेला बेलामा विभिन्न खाले संक्रमण फैलिएको पाईएकै हो । अहिले भएकै कैदीबन्दी जोखिममा छन् ।

त्यसमाथि अरु भीड थप्दा भएको जोखिमप्रति सचेत हुने कहिले ? कतिपय देशले कोरोनाको असर र यसको भविष्यका बारेमा समेत अध्ययन शुरु गरिसकेका छन् । यो महामारी देश अघि  बढनका निम्ति यौटा राम्रो अवसर पनि हो,जस्तो कि चीन ! द इकोनोमिस्टले गरिव र धनी रास्ट्रलाई अब पर्ने असरको चिरफार गरेर लेखेको छ !  थुप्रै मुलुकले अब के हुन्छ ? भन्ने विश्लेषण गरेका छन् तर नेपालमा सरकार कहिले तात्छ भन्ने स्थिति छ ।  न त यसबारे थिंक ट्यांकहरु नै अगाडि सरेका छन् । के मुलुक लकडाउनमा राखेर सरकार पनि लकडाउनमै बसेको हो ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*