कताको शुरुआत, कताको अन्त्य

अञ्जना सुवेदी
[post-views]

एउटा उचाइबाट खसेपछि पनि मान्छे कसरी सम्हालिएर उठ्न सक्छ ? यसको उदाहरण हुन् उनी । कुनै समय गार्मेन्ट उद्यममा जमेर राजनीतिको शिकार भई सडकमा पुगेका छोटेलाल रौनियार । नेपाली पँुजीबजारको क्षेत्रमा उनलाई नचिन्ने विरलै होलान् । जीवनका साढे ६ दशक व्यतित गरिसकेका उनी सफल लगानीकर्ताको रूपमा चिनिन्छन् । काठमाडौंको मखनमा जन्मिए । ५ दाजुभाइमध्येका कान्छा । पिता स्व.शिवनन्दन र माता स्व.मोतीदेवी । कान्छा सुपुत्र भएकै कारण शिक्षकले उनको नाम छोटेलाल जुराइदिए । तर, यिनै छोटेलालको योगदान नेपाली शेयर बजारको श्रीवृद्धिमा निकै उँचो छ । पितापुर्खाले गरिआएको पेशा थियो कपडा व्यापार । तर, उनी पितापुर्खाको बिँडो थाम्न गएनन् । सानैदेखि अलि पृथक् सोच र स्वभावका रौनियार परम्परागत कपडा पसल छोडेर गार्मेन्ट उद्योगमा होमिए । उत्पादनसँगै निर्याततर्फ लागे । तर, जीवनको गति सधँँै एउटै लयमा कहाँ बग्छ र ? त्यही गार्मेन्ट कारखाना बन्द भएपछि जीवन युटर्न भयो । अर्थात् उनकै शब्दमा शुरु भयो जीवनको दोस्रो इनिङ । १५ वर्षकै उमेरमा एसएलसी पार लगाए जुद्धोदय पब्लिक स्कुलबाट दोस्रो श्रेणीमा । र, बन्न पुगे म्यानेज्मेन्टको विद्यार्थी । पब्लिक युथ क्याम्पसबाट आइकम, शंकरदेवबाट बी कम तह पार लगाए ।

 

यही बीचमा सरकारले चलायो गाउँफर्क राष्ट्रिय अभियान । त्यतिखेर उनी मास्टर्स गर्दै थिए त्रिविबाट । ०३४ सालमा जब पिताजीले छाडेर जानुभयो १३ दिने काज कर्मपछि दिदीले केही रकम हातमा थमाइदिनुभयो । अब त्यो रकम कहाँ खर्च गर्ने ? व्यवस्थापनका विद्यार्थी । त्योमाथि सानैदेखि अरूलेभन्दा केही भिन्न काम गरेर आफ्नो पहिचान बनाउनुपर्छ भन्ने स्वभावका । तिनताक नेपालमा गार्मेन्ट उद्योग खोल्ने फेसन नै बनेको थियो । उनको लक्ष्य थियो देश विदेश घुम्ने, ज्ञान बटुल्ने । एकै ठाउँमा जमेर उनलाई कुवाको भ्यागुतो हुनु थिएन । सम्झौता गरेनन् गुणस्तरमा । त्यही कारण उनका उत्पादनको अर्डर जापान, अमेरिकाजस्ता सम्पन्न मुलुकबाट आउन थाल्यो । पसल हँँुदै ४ वर्षको बीचमा फ्याक्ट्री खोले । उनको कम्पनीमा झण्डै ५ सय हाराहारीमा मजदुर कार्यरत थिए । ०५२ सालबाट शुरु भएको सशस्त्र द्वन्द्वको प्रभाव उनको व्यापारमा पनि पर्न थाल्यो । माओवादी सशस्त्र विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिमा होमियो । पहिलो संविधानसभा निर्वाचन जितेर आएसँगै अनेक युनियन खुल्न थाले । कालान्तरमा प्रचण्ड र वैद्य खेमानिकट दुई युनियनबीच लफडा निस्कन थाल्यो । कर्मचारीहरू आपसमा झगडा गर्न थालेपछि अर्डर आएको ठाउँमा समयमा सामान पुग्न सकेन । गुणस्तरीय सामान देश÷विदेशबाट माग हुँदाहुँदै पनि कहिले तालाबन्दी, कहिले कर्मचारीकै कुटाकुटका कारण उत्पादन हुन छाड्यो । कर्मचारीकै लफडाका कारण उद्योग अधोगतिमा हिँड्न थाल्यो । यही कारण करोडौं लगानीमा सञ्चालित एउटा उद्योग बन्द भयो । झण्डै १४ वर्ष व्यतित भइसकेको छ उद्योग बन्द भएको । कल्पना गरौं, उद्योगमा ताला ठोक्नुपर्दा छोटेलालको हालत कस्तो भयो होला ? देशको राजनीतिक परिस्थितिका कारण एउटा उचाइबाट झरेर सडकमा पुगेका पात्र हुन् छोटेलाल । छोरी लण्डनमा थिइन् । केही समय मन भुलाउन उनी पत्नीसहित त्यता पुगे । २ महिना त्यता बिताएर फर्किए । गर्ने के ? जाने कहाँ ? शून्यजस्तै थियो दिमाग ।

हरेक बिहान निस्कन्थे मर्निङ वाकमा । भेटिन्थे गार्मेन्ट उद्योगका सहयात्रीहरू । तिनले शेयर बजारमा प्रवेश गरेर मार्केट खाइसकेका । मालामाल बनिसकेका । जतिखेर गार्मेन्ट उद्योग चलिरहेको थियो त्यही बेला केही कम्पनीको शेयर खरिद गरेका थिए उनले । शेयरको भ्यालु राम्रै भइरहेको थियो । तर, जब बाबुराम भट्टराई अर्थमन्त्री बने । उनको एउटै अभिव्यक्तिले शेयर बजार ओरालो लाग्न थाल्यो । शेयर बजारलाई जुवाको घरको संज्ञा दिएका थिए बाबुरामले । अहिलेका अर्थमन्त्रीको झैं उनको पनि शेयर बजारप्रति नकारात्मक दृष्टिकोण थियो । त्यतिबेला ११७५ को बिन्दुमा पुगेको शेयर ३५० सम्म पुग्यो झरेर । शेयर बजारबारे अर्थशास्त्रको पुस्तकमा त पढेका थिए तर कसरी खरिद गर्ने जानकारी थिएन । केही साथीहरूको सरसल्लाह र सहयोगमा २५० कित्ता शेयर खरिद गरे सिद्धार्थ बैंकको । करिब आठ महिना लण्डनको बसाइ सकेर जीवन संगिनी स्वदेश फर्कंदा उनी लाखौं लगानीसहित शेयर बजारमा छिरिसकेका थिए । २८ वर्षसम्म गार्मेन्ट उद्योगमा साथ दिएकी श्रीमतीसँग सल्लाह गरे । जसरी मलाई हिजो गार्मेन्ट उद्योगीका रूपमा देश÷विदेशले चिन्थे त्यसैगरी शेयर बजारमा चिनिन चाहन्छु । मलाई तिम्रो साथको खाँचो छ । त्यसैले त भन्छन् नि एउटा पुरुषको सफलतापछि महिलाको हात हुन्छ भनेर । तर, शेयर बजारमा क्रियटिभ काम केही हुन्नथ्यो गार्मेन्ट उद्योगमा जस्तो । दिमाग लगायो, शेयर किन्यो, बेच्यो । शेयर बजारमा लागेको दश वर्षबीच छोटेलालको पहिचान बदलियो । उनी जहाँ काम गर्छन् त्यहाँ दिल दिमाग लगाएर काम गर्छन् । शून्यबाट प्रवेश गरेका उनी यो अवधिमा नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष बन्न पुगेका छन् ।

छोटेलाल, शेयर खरिद गर्दा बलियो कम्पनी हेर्न लगानीकर्तालाई सल्लाह दिन्छन् । बोनस बढी दिने भएकाले त्यस्तो कम्पनी हेर्न सुझाउँछन् । नेटवर्थ बढी भएको, खराब सम्पत्ति कम रहेको कम्पनीमा लगानी गर्नु उपयुक्त हुने उनको सुझाव छ । विशेष गरी लगानीका क्षेत्र बैंक, वित्त, जीवन र निर्जीवन बिमा कम्पनी, राम्रा हाइड्रोपावरलगायतमा लगानी गर्दा उचित हुने उनको सुझाव छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*