यौन दुर्व्यवहारमा अर्का पत्रकार

जन आस्था
६ चैत्र २०७६, बिहीबार १३:००

मन्त्रीसँग सम्बन्धको शान र पत्रकार परिचयपत्र देखाउँदै नेकपानिकट पत्रकारले अधिकारकर्मी महिलालाई यौनजन्य हिंसा गरेपछि नुवाकोटका २८ वर्षीय संकल्प भनिने रामहरि गजुरेलविरुद्ध चितवनकी चेली देविका कुँवरले कारबाही माग गर्दै चैत २ गते आइतबार उजुरी दिएकी छन् । रामहरि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सीधा कुरा जनतासँग कार्यक्रम न्युज २४ का लागि यसअघि चितवन पुगेर भिडियो रेकर्डसहित आत्महत्या गर्ने पत्रकार शालिकराम पुडासैनीकै जिल्ला नुवाकोटका रिपोर्टर हुन् । तत्कालीन प्रेस सेन्टर जिल्ला अध्यक्ष तथा हाल नेकपानिकट प्रेस संगठनमा सहअध्यक्ष छन् ।

उजुर दिनुअघि पीडितले नसुध्रिए मुद्दा दर्ता गर्ने चेतावनी दिएकी थिइन् । त्यसलगत्तै रामहरिले फेसबुकमा देविकालाई ब्लक गरे । शुरुमा म्यासेन्जरमा राम्र्रैसँग बोलेर आफू पत्रकार भएको र महिला अधिकार क्षेत्रमा सक्रिय रहेको बताएका रामहरिले देविकालाई हेटौंडामा सम्पन्न प्रेस संगठनको तीन नम्बर भेलामा देखेको भन्दै म्यासेज गरेका थिए । पत्रकार र महिला अधिकारबारे प्रसंग कोट्याएका संकल्पलाई देविका आफैंले फेसबुकमा साथी बनाए पनि व्यक्तिगत रूपमा चिनेकी थिइनन् । चितवनको भरतपुर महानगरपालिका–११ बस्ने विवाहित देविकालाई रामहरिले तीन महिनादेखि निरन्तर जिस्क्याउन थालेको बताइन्छ । पटक–पटक यौनजन्य दुव्र्यवहार गर्दै रामहरिले शारीरिक सम्बन्धदेखि लिएर नांगो तस्बिरसम्मको अडियो भिडियो सार्वजनिक गर्ने भनी धम्क्याएको उजुरीमा उल्लेख छ । देविकाले अडियो भिडियोको प्रमाण के छ ? भन्दा उनले आफूले तयार गरिसकेको, बनाउन सक्ने तथा आफैंले पोष्ट गर्ने भनेका थिए ।

पूर्वमाओवादीनिकट पत्रकार संगठनमा आबद्ध गजुरेलले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको नाम लिएर देविकालाई जे पनि गर्न सक्ने भन्दै धम्क्याएको आरोप छ । देविकाले श्रीमान् कमल कँुवरलाई घटना सुनाएपछि कतारमा रहेका पति नेपाल आउनै लागेका थिए । तर, देविका स्वयंले आफू रामहरिविरुद्ध लड्ने भन्दै सम्झाई बुझाई गरेकी छन् । सामाजिक कार्यमा सक्रिय छन् । उनले उजुरीमा प्रहरी प्रशासनसमक्ष निष्पक्ष छानबिनको माग गरेकी छन् । शुरुमा हेटौंडामा चिनेको बताएका रामहरिले पछि देविकासँग दिदीबाट सबै कुरा थाहा पाएको भन्दै प्रेमिका जसरी संवाद गरेका थिए । देविकाले आफूलाई यसरी बोलेको मन नपर्ने भनेपछि उनले अश्लील शब्द प्रयोग गरेर घरी धम्काउने, घरी फकाउने गरेको म्यासेन्जरमा देखिन्छ ।

‘घरी मन्त्रीसँगका फोटा, घरी माओवादी नेतासँगका फोटा देखाएर धम्क्याउने प्रयास गरेका छन्’, देविकाले भनिन्, ‘सञ्चारमन्त्री गोकुल बाँस्कोटासँगको फोटो देखाएर मैले बोलेको, फोन, च्याटलगायत सबै रेकर्ड छ भनी धम्क्याएका थिए ।’

रामहरिले फेसबुकमा अरू नयाँ–नयाँ केटीलाई पनि साथी बनाउने र चिनेको भन्दै अश्लील शब्द प्रयोग गर्ने गरेको बताइन्छ । नेपाल पत्रकार महासंघको चितवन रत्ननगरमा सम्पन्न एक कार्यक्रममा भेटिएका पत्रकार संकल्पले च्याटमा जिस्कने गरी म्यासेज गर्ने गरेको अर्की एक पत्रकारले बताइन् । नुवाकोटको विदुरमा डेरा बस्ने गरेका उनले भाडा नतिरेपछि जनप्रतिनिधिको रोहबरमा प्रहरी पुगेर ताला फोडी कागज गरेको समेत पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*