दिल्लीमा मैले केपी ओलीलाई जुन रूपमा देखेँ

जयप्रकाश आनन्द (गुप्ता)

‘इच्छाशक्ति’ भनेको कस्तो हुन्छ ? बीपी कोइरालाबाट सुनेको थिएँ । आज त्यस्तो दृढ र अद्भूत इच्छाशक्ति भएको मान्छेका रूपमा केपी ओलीलाई देखिरहेको छु ।

वीपीका माइला भाइ, डा.शेखर कोइरालाका बुबा केशवप्रसादको ०३८ सालमा क्यान्सरका कारण निधन भयो । हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बिराटनगरको घाटसम्मै पुगेका थियौँ । वीपी भारतमा हुनुहुन्थ्यो । भाइको अन्त्येष्टिका लागि आउनुभयो । पार्थिव शरीरको चौतर्फी परिक्रमा गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । अन्तिममा भन्नुभयो, ‘केशवमा रत्ति पनि इच्छाशक्ति रहेनछ † भर्खरै क्यान्सर थाहा पाइयो । डेढ वर्ष नबित्दै गयो । मलाई ००६ सालतिरै घाँटीमा क्यान्सर डिक्लियर (प्रमाणित) भएको । तर, आजसम्म (०३८) बाँचेकै छु †’ उहाँको भनाइ थियो, इच्छाशक्तिले मान्छेलाई बचाउँछ । हुन पनि जतिबेला वीपीमा क्यान्सर रोग भेटियो, त्यसबेला उपचार गर्ने अस्पताल र प्रविधिको सहजता आजको जस्तो थिएन । बम्बईमा जम्मा एउटा टाटा मेमोरियल क्यान्सर अस्पताल थियो । त्यहाँ पनि आजको जस्तो पर्याप्त उपचार हुँदैन थियो । त्यसैले वीपी बारम्बार भन्नुहुन्थ्यो, इच्छाशक्ति † अर्थात्, ‘इच्छाशक्ति’ आफैँमा अमूर्त कुरा होइन । हरेक मानिसमा लक्ष्यप्राप्तिको इच्छा हुनुपर्छ । म बाँच्छु भन्ने मान्छेले बाँच्नका लागि चाहिने मिशनको लोभ गर्छ र त्यसले बाँच्न उत्प्रेरित गर्छ ।

मैले अहिलेका प्रधानमन्त्री केपी ओलीजीलाई फरक–फरक अवस्थामा दुईपटक दिल्लीमा भेटेँ । पहिलोचोटि अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न जानुभएको थियो । प्रत्यारोपणपछिको पहिलो स्वास्थ्य परीक्षण तालिकाअनुसार दिल्ली पुग्दा उहाँ सवा महिना बस्नुभयो । सरकारी आवास डिफेन्स कोलोनीको एउटा गेष्ट हाउसमा उहाँको बसाइ थियो । भारत सरकारले उपलब्ध गराएको त्यो गेष्ट हाउसमा खानापिनाको पनि व्यवस्था थियो । मैले भेट्दा इण्डोनेसियन बाटिक सर्ट र पाइन्ट लगाएर बस्नुभएको थियो । रत्ति पनि लागेन कि, उहाँ मिर्गौला ट्रान्सप्लान्ट गराएको मान्छे हो । मैले दुई जना त्यस्ता मान्छे देखेको छु मिर्गौला प्रत्यारोपणलगत्तै निधन भएको । तर, केपीजीमा प्रत्यारोपण त के सामान्य रुघा, खोकी पनि छजस्तो नदेखिने †

डा.शेखर कोइराला त्यही बेला दिल्ली पुग्नुभएको थियो । उहाँले पनि भन्नुभयो, ‘यो मान्छेमा रत्ति पनि चिन्ता पाइनँ ।’ वास्तवमा हामी उहाँसँग उपचारका बारेमा केही कुरा गर्न खोज्दै थियौँ । उहाँचाहिँ केही भएकै छैन जस्तो, दिल्ली आएको बेला यसो चेकअप गराइहालौँ भनेजस्तो शैलीमा प्रस्तुत हुनुभयो । जब विरामीले नै आफूलाई विरामीजस्तो महसूस गरेको छैन भने सोध्ने मान्छेले त्यही कुरा सोधेर हतोत्साहित गर्ने कुरा पनि भएन । यस्तो देखेर शेखर कोइराला छक्क पर्नुभयो ।

त्यसबेला उहाँले आफ्नै पार्टी, संसदीय व्यवस्था, कांग्रेस र एमालेबीचको सम्बन्धका बारेमा कुरा गर्नुभयो । हामी छक्क प¥यौँ । कतैबाट पनि उहाँमा अस्वस्थ्यताको छनक पाइँदैनथ्यो ।

दोस्रोपटक फेरि ६ महिनापछि उहाँ दिल्ली पुग्नुभयो । संयोगले त्यसबेला म पनि दिल्ली पुगेँ । कृषि मन्त्री थिएँ । एउटा कार्यक्रममा भाग लिनुपर्ने । म होटल ताजमानसिंहमा बसेँ । उहाँ पनि त्यहीँ हुनुहुँदो रहेछ । उहाँसँग मैले नचिनेका एकजना सहयोगी थिए । त्यसक्रममा उहाँसँग ६–७ दिन बस्दा मैले कतै नदेखेका अचम्म–अचम्मका दृश्य देख्न पाएँ । उहाँले भन्नुभयो, ‘जयप्रकाशजी, तपाईं त मन्त्री भएर आउनुभएको छ । तपाईंको आफ्नो प्रोटोकोल होला । म त टुरिष्ट भएर आएको छु ।’ मैले हाँस्दै भनेँ, ‘इलाज गराउन आएको मान्छे, कहाँ टुरिष्ट हुनु तपाईं ?’ उहाँले भन्नुभयो, ‘ल तपाईंलाई थाहै छैन, आजैमात्र लोटस मन्दिर, इण्डिया गेटसहित तीन ठाउँ घुमेँ ।’ म ट्वाल्ल परेँ । उहाँले एकछिनपछि मेरो काँधमा हात राख्नुभयो र ‘अच्छा जेपीजी’ भन्दै कुरा अगाडि बढाउनुभयो, ‘आज साँझ हामी जम्नुपर्छ ।’

मैले सोधेँ, ‘कता ? तपाईंको कोठामा कि मेरो कोठामा ?’ उहाँले भन्नुभयो, ‘के को कोठा नि ? आज रेष्टुरेण्टमा बस्ने, खाने, रमाइलो गर्ने †’ उहाँले ताज होटलकै रेष्टुरेण्टमा बस्ने कुरा गरेपछि मैले भनेँ, ‘यहाँको डिनर ११ बजे शुरु हुन्छ । रंगीचंगी त १०, साढे १० मा मात्रै शुरु हुने हो । तपाईं बिरामी मान्छे । त्यति अबेरसम्म बस्न सुट गर्दैन । बरु, कोठामै खानासाना खाएर बेलैमा सुत्नुपर्छ ।’ तर, मेरो कुरामा उहाँले झर्को मान्दै भन्नुभयो, ‘ल, ल आज अरु कुरा छोडिदिनुस् । हामी बस्ने पक्का भयो ।’

हामी ताजकै रेष्टुरेटमा बस्यौँ । केपीजीले भन्नुभयो, ‘बुझ्नुभयो, मैले यहाँ बसेर बल्ल थाहा पाएँ नि, कतिबेला दिन शुरु हुन्छ भन्ने । दिनभरि काम गरेर, घरमा नुहाई, धुवाई गरेर, सफाचट भएर मान्छेहरू आएका छन् । कुर्तामा यसरी आइरन लगाएका छन् कि त्यो धारले नै काट्लाजस्तो । यहाँ त राति ११ बजेबाट पो दिन शुरु हुँदोरहेछ ।’ यसक्रममा हामीले मदिरा पियौँ, उहाँले जुस पिउनुभयो । हामीले हाम्रै अनुकूलका सितन खायौँ, उहाँका लागि स्वास्थ्यलाई अनुकूल हुने खानाहरू अर्डर ग¥यौँ । यसप्रकार रातिको सवा १ बजेसम्म बस्यौँ । त्यसक्रममा उहाँमा रत्ति पनि थकान, आलस्यता पाइएन । ‘ल कमरेड, अब जाऔँ’ हामीले भन्यौँ ।

मलाई त्यही दिन लागेको हो, उहाँ अचम्मको, बिन्दास मान्छे । स्वास्थ्यप्रति आशावादी पनि ।

यसपालि ओली बिरामी हुँदा ती दुई घटना सम्झेर साथीभाइलाई भनेँ, ‘यो मान्छेको आधा बिरामी इच्छाशक्तिले निको पारेको छ । साथीहरूलाई त्यसो भन्दा म वीपीको बाणी सम्झिन्छु कि, इच्छाशक्ति भन्ने कुरा अमूर्त हुँदैन, उद्देश्यसहितको हुन्छ । निरुद्धेश्य मान्छेमा इच्छाशक्तिको निर्माण नै हुँदैन । केपीजीको यो इच्छाशक्तिले मुलुकलाई सही परिणाम दिन्छ या के गर्छ भन्ने कुरा भोलि देखिएला । तर, उहाँले एउटा न एउटा टार्गेट बनाउनुभएको छ, जसले बाँच्न उत्प्रेरणा दिइरहेको छ । आइतबार नरेन्द्र मोदीको पहलमा भएको टेलिकन्फरेन्समा सार्कका सरकार प्रमुखसँग प्रस्तुत भएर उहाँले मान्छेहरूलाई पागल बनाइदिनुभयो । अस्ति भर्खर अस्पतालबाट डिस्चार्ज भएको मान्छे, आज यसरी बोलिरहेको छ † यो कहीँ हुने कुरा जस्तो नलाग्ने । तर, आफ्नै आँखाले देखियो ।

मिर्गौला रोगकै कारण भारतका केन्द्रीय अर्थमन्त्री अरुण जेट्ली र विदेशमन्त्री सुष्मा स्वराजहरूको लगालग निधन भयो । ओलीले उपचारका क्रममा जति सुविधा दिल्लीमा पाउनु हुन्छ, पक्कै पनि त्योभन्दा राम्रो सुविधा अरुण जेट्ली र सुष्मा स्वराजहरूले पाएको हुनुपर्छ । फेरि केपीजीको भन्दा ११ वर्षपछि उनीहरूको अपरेशन भएको हो । पक्कै पनि अत्याधुनिक प्रविधिबाट अपरेशन भएको हुनुपर्छ । तर, हाम्रै खुमबहादुर खड्काजीसहित उहाँहरू यो धर्तीमा रहनुभएन ।

यदि, केपीजीले सकारात्मक उपलब्धीमा लगाउन सक्ने हो भने यो इच्छाशक्तिले धेरै राम्रो परिणाम दिन सक्छ । उहाँ दिल्ली बसाइमै भन्नुहुन्थ्यो, ‘जीवनको काउण्टडाउन शुरु भयो, अब केही गरेर देखाउनुपर्छ †’ मलाई उहाँका शव्दहरू याद छन्, ‘बुझ्नुभयो, म त लक्का जवान भएर नेपाल फर्किदैछु नि † थोत्रे किड्नी बोकेर राखेको रहेछु । जतिसुकै राम्रो बनाउन खोजे पनि भएन । तन्नेरी किड्नी पाएको छु । अब जवान हुन्छु ।’ म आश गर्छु, उहाँ अझै जवान हुनुहोस्, देशलाई सकारात्मक उपलब्धितर्फ डो¥याउन सफल हुनुहोस् । शुभकामना प्रधानमन्त्रीज्यू !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*