गएर बेशीशहर, ठग्ने रहर

जन आस्था
२३ फाल्गुन २०७६, शुक्रबार ११:००

आडैमा खाजा पसल सञ्चालन गरी बस्ने शान्ता श्रेष्ठको चिया पकाउँदा पकाउँदै ग्यास सकियो । हतारमा हजारको नोट लिएर साँझपख बाँकी पैसा दिन्छु भनी बेसीशहर–८ फूलबारीस्थित ओमकार टे«डर्सका पूर्णलाल श्रेष्ठकोेमा ग्यास लिन गइन् । चानचुन ४ सय नपुग्दा ग्यास पाइनन्, फर्केर अर्काे पसलबाट ल्याई काम चलाइन् । पूर्णलालकहाँ ग्यास लिन जाने कैयौंको कथा यस्तै छ । स्थानीयलाई दुई÷चार सय नपत्याउने पूर्णलाललाई एक हप्तैमा १ लाख २ हजार ८ सय ४० को चुना लगाइदिए जुम्लाका महेन्द्र हमालले । कुनै कोणबाट पनि तनहुँको जस्तो नलाग्ने हमालले आफ्नो घर डुम्रे भएको भन्दै ३ लाख ४२ हजारमा बबिता जैसवालको रिया किनारा पसल उधारोमा किने । गलैंचा बेची हिँड्दा लमजुङेको पित्त छामिसकेका हमालले कमालै गरे । लामो समय बेसीशहर–८ मा किराना र मिठाई पसल चलाउँदै आएका भारतीय जैसवालको आँखामा पानी हाल्न सफल भए हमाल । १५ दिनको भाखा राखेर हमालले जैसवालको किनारा पसल किने । र, बेसीशहरको होलसेलरमा गनिएका साहुलाई धमाधम सामान झार्न लगाए । उधारोमा झारेका सामान गाउँ लगेर नगदमा बेचे । बेसीशहरमा चल्ने बोलेरो जिप सबैलाई राम्रै रकम दिने शर्तमा सामान लोड गराएर घलेगाउँ, घनपोखरा, पसगाउँदेखि बाहुनडाँडासम्म पु¥याई आउँथे । बेसीशहरका साहुहरू तीनछक्क । पसलअगाडि गाडीको लाइन । साहुहरू सबैलाई माघ २० गतेको मिति राखेर ग्लोबल आइएमई बैंकको चेक दिएकै थिए र त आलु, प्याज चिनीका सयौं बोरा झार्थे ।
माघ ७ गते विकास श्रेष्ठको मोनिका इन्टरप्राइजेजबाट ४ लाख ५० हजारको रक्सी झारे २ लाख ९० हजारको चेक थमाएर । भारतीय सेनाबाट रिटायर्ड गणेश थापाले श्रीमती सरस्वतीको नाममा प्रतिभा एण्ड संजोग किराना पसल सञ्चालन गरेका छन् बेसीशहर–८ क्याम्पस रोडमा । नजिककालाई एक पोको उधारो पत्याउँदैनथे । तिनै थापाबाट हमालले ३ लाख ५५ हजार ३५० रुपैयाँको चामल उठाए । उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापाको आयूष ब्रदर्सबाट १ लाख २४ हजार ५ सयको पानी उठाए । बेनपा–७ का ओमलाल गुरुङको सेल्समार्टबाट ९० हजार ५६५ को आँटा, दाल उठाए । बेनपा–९ रत्नकुमारी श्रेष्ठको बतास ब्रदर्सबाट १ लाख ३७ हजार ७९० को किराना सामान उठाउन ३४ हजार ५ सयको चेक दिए । अण्डा व्यापारी ज्ञानेन्द्र बोहराको पोल्ट्री फर्मबाट ८८ हजारको अण्डा उठाए । रवि जैसवालबाट १ लाख ८० हजारको आलु, प्याज झारे । सबैलाई २० गतेको मिति राखेर चेक थमाए । १९ गते साढे ८ बजेसम्म पसलमै हिसाबकिताब गरेका हमाल भोलिपल्ट बिहान अबेरसम्म पनि दुकान खोल्न आएनन् । सधैं बिहान ५ नबज्दै खोलिने पसल १० बजिसक्दा पनि नखोल्दा वरपरकालाई अचम्म लाग्यो तर उति चासो राख्ने कुरा पनि भएन । व्यापारी मान्छे कतै गयो होला भन्ने भयो । भेउ त त्यतिखेर पाए जतिखेर व्यापारीहरू चेक लिएर बैंक पुगे । चार÷चार लाखको सामान उठाएका हमालको खातामा एक पैसा पनि नभएको बैंकका कर्मचारीले बताए ।
आफूलाई डुम्रेको नेवार बताउने हमाल जुम्ला कनक सुन्दरी गाविस–५ का महेन्द्र हमाल भएको भेद खुल्यो । यता बैंक खातामा रकम नभई सकेपछि व्यापारीले ९८४५४१४९६७ मोबाइल नम्बरमा फोन गर्दा अफ । बल्ल आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुर गरे । अचम्म कतिसम्म भने बेसीशहरका प्रायः नेवारहरू बन्दीपुरका । तर, कोही कसैले उसलाई कसको छोरो, नाती भनेरसमेत सोधेनन् । जिल्ला प्रहरी कार्यालयको नाकैमा रहेको पसल । अझ डिएसपी रवीन्द्रमान गुरुङको त पसलछेवैको घरमा डेरा । कोही कसैले यो मान्छेको चालामाला पत्तो पाउनै सकेनन् । पसल गरेको १० दिन नपुग्दै बेसीशहरका साहुहरूलाई २० लाखजति चुना लगाउन सफल भए ।
ठगका अनेक दाउ भनेझैं बेनपाका मेयरलाई नै साक्षी राखेर कृषि तथा पशुपालनमा सहयोग गर्ने भन्दै एशोसिएसन अफ एग्रिकल्चर नामक एक संस्थाले हजार किसानलाई मुर्गा बनाउन सफल भएको छ । ०७४ पुस १४ गते सदरमुकाम बेंसीशहरमा कार्यालय स्थापना गरेर मेयर गुमानसिंह अर्याललाई उद्घाटन गर्न लगाए । मेयरले नगरपालिका साथमा रहेको भन्दै सहिसलामत काम गर्न भने तर दुई वर्ष पनि नबित्दै कम्पनी किसानसँग ७० लाख रुपैयाँ ठगेर भाग्न सफल भयो । पत्रिकामै सूचना प्रकाशन गरी १० जना कर्मचारी भर्ना गरेर कम्पनीले किसानलाई सहुलियत दरमा तरकारी तथा अन्नबालीको बिउविजन, विभिन्न प्रजातिको वनस्पतीका बिरुवा, कुखुराका चल्ला, उन्नत बाख्रा तथा भैंसीपालनमा सहयोग गर्ने भन्दै रकम उठाइयो । पत्रिकामा १० जना कर्मचारी माग गरिए पनि ४० जना करार भन्दै ५० जना भर्ना गरी गाउँमा कृषक समूह गठन गर्न भनियो । १० जना बराबर एक समूह बनाई जनही ५ सयका दरले उठाइएको थियो । कर्मचारीलाई पनि आकर्षक तलब दिने भनियो । मासिक १५ हजार तलब, १५ सय भत्ता, २ सय मोबाइल खर्च । किसानलाई अगरउड, रुद्राक्ष, मलेसियनसाल तथा बुद्धचित्तका बिरुवा, तरकारीका बिउविजन वितरण गर्ने भन्दै थप १५ सय उठाइयो । केही किसानलाई बिरुवा र तरकारी बिउ वितरण पनि गरियो । १५ सय बिरुवा दिने भनेर रकम लगेको कम्पनीले मस्र्याङ्दी गाउँपालिका–९ की अम्बिका कुइँकेललाई दुईवटा बिरुवा दिएपछि फर्किएनन् । मुख्य कार्यालय बाँकेको कोहलपुर भएको भन्दै लमजुङका सबै नगर र गाउँपालिकामा शाखा विस्तार गरेको कम्पनीका सञ्चालक गणेशदत्त भट्ट, कार्यक्रम संयोजक राजेश चौधरी, माया गुरुङ थिए भने लमजुङ शाखा प्रमुख थिइन् मीना गुरुङ श्रेष्ठ । उनी २२ चैत २०७५ देखि फरार छिन् । माग्नुहुन्न, जति दिन्छन् हात थाप्नुपर्छ भन्ने मान्यता बोकेका जिल्ला समन्वय समितिका सभापति लोकराज पाण्डेबाट कृषिमा काम गर्ने अनुमति लिएर बेंसीशहरमा शाखा खोलेका थिए । शाखा खोलेपछि जिल्लाको क्होँलासोँथर गाउँपालिकाबाहेक अन्य ७ वटा स्थानीय तहमा किसानको समूह गठन गरियो । कम्पनीले बाख्राका पाठीको लागि १० हजार, पाठाका लागि १२ हजार, भैंसीका लागि ७० हजार र कुखुराको चल्लाका लागि सय रुपैयाँका दरले रकम उठाए । बेनपाका कुमार पराजुलीलाई मासिक ९ हजार दिने भन्दे झुक्याएर एक फ्ल्याटमा कार्यालय राखियो । उनैले १४ महिनाको भाडा पाएनन् । सुशीला घिमिरे, लक्ष्मी दुलालजस्ता युवतीलाई आकर्षक तलब दिने भनेर गाउँगाउँ डुलाए, समूह बनाई किसानसँग भनेजति रकम उठाउन लगाए । अन्ततः क्रिम पाउडर किन्ने पैसासमेत नदिई ५ गतेदेखि मोबाइल नै अफ गरेर फरार भए । किसान ठगिएको भन्दै प्रहरी प्रशासन र जनप्रतिनिधि दिनहँुजस्तो उजुरी लिएर पुगे पनि वतन नखुल्दा कुनै कामकारबाही बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
– अञ्जनकुमार हिमाली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*