प्रहरीले चाहे कसरी फसाउँछन् !

अनिल शर्मा "बिरही" (बिप्लव नेकपाका पोलिटब्युरो सदस्य)
[post-views]

साँझपख एकजना प्रहरीले ‘एसपीसा”बले जिप्रका वा सरकारी अस्पताल कहाँ जाने हो सोध्नु, मेडिकल कलेजमा राख्न मिल्दैन भन्नुभएको छ’ भने ।

मैले, ‘तिम्रो हाकिमले जे भनेका छन् त्यही गर’ भनिदिएँ । अबेर भरतपुर अस्पताल लगे । वार्डको ढोकामा स्ट्रेचर रोकेर भर्ना प्रक्रिया शुरु गरे । घण्टौं ढोकामा राखियो । एक जना चिकित्सकले ‘खाली छैन’ भनेको सुनेँ । त्यही समयमा एकजना सादा पोशाककै प्रहरीले मुचुल्कमा सही गर्न भने । पढ्न सकिन । उनैले पढेर सुनाए । मसँग मट्याङ्ग्रा थिए दुईवटा । मट्याङ्ग्रा शब्द सुनेको थिएँ, देखेको थिइन । मलाई गाउँलेले दिएको झोलामा रहेछ । प्रहरीले बरामदी मुचुल्कामा ‘दुईवटा बिष्फोटक पदार्थमा प्रयोग हुने छर्रा’ लेखेको रहेछ । के लेखेको यो,माटो र छर्रा चिनिँदैन ? म सही गर्दिन भनें । उसले ‘विधि विज्ञान प्रयोगशालामा पठाउँछौं,होइन रहेछ भने ठीकै भो नि,सही गर्नुस्,’ भन्यो ।

चुनावमा गडबडी नहोस् भनेर उम्मेदवारको रोहबरमा मटपेटिका ओसारप्रसार हुन्छ । ‘मेरो झोलाको सामान फालेर त्यस्तै आकार प्रकारको बिष्फोटक पदार्थ प्रयोगशालामा पठायौ भने के गर्ने ?’  मेरो झोलाको सामान अदालत हुँदै प्रयोगशालासम्म सही पठाएको छ भन्ने पारदर्शीताको आधार के हो ?’ मैले भनें । प्रहरीले त्यसो गर्दैन-उनले भने । ‘सुनसरीमा उमा भुजेलको मुचुल्कामा खाली ठाउँ छाडेर अदालतमा पेश गर्दा ‘एक थान पेस्तोल’ लेखिएको थियो । लक्ष्मण पौडेलको सन्दर्भमा उदयपुर जिल्ला अदालदतले गरेको फैसला हेर्दा नै प्रहरी ज्यादती बुझ्न सकिन्छ । कुमार पौडेलको हत्यारा र सांसद सुरेन्द्र यादवको अपहरणकारी सर्वेन्द्र खनालले प्रशिक्षित गरेको प्रहरीको नैतिक धरातल र विश्वसनीयताको दाबी आफैंमा हास्यास्पद थियो । सही नगर्न पनि सकिन्छ भन्दै त्यो मान्छे गयो । मैले उसको अनुहार हेर्न पाएको थिइनँ ।

राति कसैले खाना ल्याइदिए । खाएँ तर तुरुन्तै औषधिसमेत बान्ता भयो । स्लाइन चढाए,पेन किलर दिए । चिसो भयो । शरीर छामें । पिसाब थैली फुटेर घाँटीसम्म भिजेको रहेछ । प्रहरीलाई झोलामा लुगा छ कि भनें । पाइन्ट रहेछ,त्यो लुगा फेरें । लिँडे हवल्दारले सर्ट पर्दैन भन्दै थियो । उसलाई पिसाबले भिजेको मेरो शरीर छुन घिन लागेको हुँदो हो । पिसाबले भिजेको कपडा लगाएर कसरी बस्ने भन्दै यौटा कालो अनुहार भएको असईले सर्ट पनि फेरिदिए । उनी गरिब परिवारका रहेछन् । त्यति लुगा फेर्दा अनौठो सुखानुभूति भयो । सुख,खुशी पनि सापेक्षिक विषय रहेछन् । पहाडी मूलको मान्छेले पहाडी मूलकालाई माया गर्छन् र मधेश मूलका मान्छेले पूर्वाग्रह राख्छन् भन्ने कुरा यहाँ गलत सावित भयो ।
अर्को दिन बिहान असहज महसुस भयो । नर्स बोलाएँ । शरीरमा ७० मिलिग्राम भन्दा कम ग्लुकोज भयो भने बेहोस् भइन्छ । मेरो ४४ एमजीमा झरेको रहेछ । नर्स आत्तिएर प्रहरीलाई चकलेट ल्याउन भनिन् । उनीहरुले टेरेनन् । नर्स निकै रिसाइन् । उनले अरु बिरामी कुरुवालाई कराएर चकलेट मागिन् । एकजनाले दिए । स्लाइन चढाएकाले हाइपर ग्लुकोज हुनबाट बचेको रहेछु । बिहान ८ बजेको हुँदो हो,एक हुल मान्छे वार्डमा पसे । जसमा डा. भोजराज अधिकारी र पत्रकारहरु रहेछन् । पत्रकारहरु एकजना बाहेक चिनिन । सञ्चारकर्मीहरुले मोर्चाबन्दी गरेको बताए । सुरक्षा र उपचारको अधिकार खोस्न पाइन्न भनेर दबाव दिएका छौं । त्यसपछि रिहाईको आवाज उठाउँछौं- एकजनाले भने । त्यसले ऊर्जा थप्यो ।

दोस्रो दिन फेरि एक्सरे,इसीजी आदि जाँचमा जाँदा आउँदा हैरान भयो । अपरान्हमा म्याद थपको लागि प्रहरीले अदालत लग्यो । लास बोकेजसरी स्ट्रेचरमा सुताएर न्यायाधीशसमक्ष पेश गरे । अदालतमा पनि त्यही मट्याङ्ग्रा देखायो कसैले । पोशाक नलगाएको हुनाले चरिचुच्चे त्यो बाहुन साइकल चोर हो कि सरकारी कर्मचारी बुझ्न सकिन । उनीहरुले मसँग दस्तावेज बरामद भएको भनेका थिए । मैले बरामदी मुचुल्कामा नै अस्वीकार गरेको थिएँ । दस्तावेज भए स्वीकार गर्न गाह्रो थिएन । बैठक,भेला,सम्मेलन वा अधिवेशनद्वारा पारित नीति र कार्यक्रम दस्तावेज हो । सरकारकै अंगको रुपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत नेपाली शब्दकोषमा ‘कुनै राजनीतिक पार्टी वा सामाजिक संस्थाद्वारा आफ्नो नीति र कार्यक्रम स्पष्ट झल्कने गरी प्रकाशित प्रतिवेदन र विधान दस्तावेज हो’ भनिएको छ । मसँग केवल लेख,कविता र समाचारका पाण्डुलिपि थिए । कागजको हरेक टुक्रालाई दस्तावेज देख्ने एक प्रकारको फोबिया (मानसिक रोग) प्रहरीमा देखिन्थ्यो । अथवा दस्तावेज र कविता छुट्याउन नसक्ने निकम्मापन थियो । बिहारबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएका पनि हुनसक्थे । मैले आफ्नो परिचय,आदर्श र काम स्पष्ट खुलाएको थिएँ ।

तेस्रो दिन एउटा पातलो,चरिचुच्चे बाहुन आएर भन्यो, ‘म इन्स्पेक्टर सुभाष भट्ट, तपाईको मुद्दा हेर्ने अधिकृत ।’ अर्को दिन एक हुल मान्छे कोठामा पसेर बयान लिन थाले । शुरुमै असईले, “प्रकाश चन्दले मेडिकल कलेजमा आन्दोलन गरेको राम्रो हो,हामीले पनि समर्थन गरेका थियौं । तर चिरञ्जिवी ढकालले त्यहीबेला हरिश न्यौपानेसँग पैसा लिए ! त्यसरी पनि आन्दोलन उठ्छ र ?’ भन्यो । उसले पार्टीलाई चन्दा उठाएको लेख्न खोज्दै थियो । बिचरा छोटा बुद्धिवाला असईले म्याद गुज्रेको औषधि प्रयोग गर्दै थियो । मैले,त्यसो भएको छैन र त्यो तपाईंको चासोको विषय पनि होइन, भनेपछि इन्स्पेक्टर भट्टले छलफल (यथार्थमा बयान) लाई विषयान्तर गरे । त्यसपछि उनीहरुले अर्को अस्त्र प्रयोग गर्दै सोधे- ‘काठमाडौका सबै संगठनमा दलित मात्रै किन राखेको,अरुमाथि अन्याय भएन र ?” मैले सेक्रेटरी नै बाहुनी नानी छन् त,भनेपछि उनीहरुमध्ये कसैले, ‘उनी पनि कालिकोटकै हुन् नि’ भन्यो । त्यसपछि मैले, ‘जसले बलिदान गर्छ त्यहीँबाट नेता हुन्छन्, काँग्रेसमा कोइरालाहरु धेरै नेता भएको ईष्र्या गरेर हुन्छ र !’ भनें । उनीहरुमध्ये एउटाले कालिकोटले मात्रै बलिदान गरेको छ र ! भन्यो । भैँसीलाई बाँसुरी बजाएर के हुन्छ र ! मैले ‘मलाई भन्दा तपाईंहरुलाई क्रान्तिको बढी चिन्ता छ कि क्या हो ?’ प्रश्न गरें ।

अबेर भैसकेको थियो । सुतेर बोल्दा पनि थकित भएँ,मुख सुक्यो । नर्सले रगत झिकिन् । दैनिक ८ पटक रगत झिक्थे । फेरि सोधपुछ्को धन्दा शुरु गरे । मेरो जवाफ थियो-“कमरेडहरुले कञ्चनको पुस्तकको एउटा अंश हेरेर नेपालको संविधान विरुद्ध जनसेनाको पैरवी गर्न मिल्छ ? भनेका थिए । पछिलो, त्यो भनाई मेरो नभएर कञ्चनको हो । दोस्रो,संविधानले तोकेको होइन निषेध गरेको बाहेक सबै हक प्रयोग गर्न पाइन्छ । संविधानले निषेध गरेकै भए पनि जनमत बनाउन, त्यसको लागि पुस्तक, पर्चा, सभा, जुलुस गर्न पाइन्छ भनेर सर्वोच्च अदलालते व्यवस्था गरेको छ । तेस्रो त्यो सैद्धान्तिक विषय हो । नेपालको संविधानले राष्ट्रपतीय प्रणालीको परिकल्पना गरेको छैन । तर सदनमा त्यो माग उठिरहेको छ । संविधानको विरुद्ध बोल्न सकिन्छ भन्ने प्रमाण हो । ” त्यस दिन गए । अर्को दिन अपरान्हमा फेरि आए । मेरो पृष्ठभूमि लिए,जीवनी लेखेझैं गरेर । शायद पेशेवर विद्रोही भएकोले थुनछेक गर्नुपर्ने दलिल पेश गर्न चाहन्थे । तर त्यो प्रयास  अर्थपूर्ण थिएन ।

२०२८ सालमा झापामा जमिनदार धर्मनाथ ढकाललाई आजका प्रम ओलीसहित्का कम्युनिस्ट बिद्रोहीले हत्या गरेका थिए । विषय खुल्छ भनेर त्यसै दिन अष्ट्रेलियाबाट बिदामा घर आएका विद्यार्थी (ढकाल पुत्र)लाई समेत काटेका थिए । धर्मनाथ पुत्र हुनु नै उनको अपराध ठानियो । काँग्रेसले जनकपुरमा राजा महेन्द्रलाई बम हानेकै हो । प्रचण्डले १० हजारको हत्याको जिम्मा लिन्छु भनेकै छन् त्यसकारण इतिहासको मूल्यांकन गर्ने हो भने सबैको गर्न सकिन्छ । मलाई चिन्ता थिएन । सबैभन्दा तनाव राप्ती ११, ओनेवाङको प्रतिक्षालयको विषयमा भयो । रातोपाटी अनलाइनमा महासचिव विप्लवको अन्तर्वार्ता प्रकाशित भयो । जसमा प्रहरीले कपिलवस्तुमा ६५ क्वीन्टल धान लुटेको र चितवनको प्रतिक्षालयमा आगजनी गरेको उल्लेख थियो ।

मैले आफ्नो डायरीमा त्यो टिपेको थिएँ । उनीहरुले त्यही विषय उठाए मैले गत वर्षतिर सशस्त्र प्रहरीले आगो लगाएको बताएँ । उनीहरुले प्रहरीले आगो लगाएको के प्रमाण छ भने । सारा सञ्चारमा आएको,दुनियाँले देखेको र आगजनीको विरुद्ध चिनवन बन्दसमेत भएको विषयमा ‘प्रमाण के छ ?’ भन्दै थिए उनीहरु । त्यसोभए सो हर्कत सशस्त्र प्रहरीले होइन भनेर विज्ञप्ति जारी गर न त । सशस्त्र प्रहरीको पोशाक,हतियार,नीलो रंगको ट्रक,सेतो झलकमा दिउँसै आएर गाउँमा आगो लगाउने समूहको रहेछ ? प्रहरीले के,कसरी जानकारी पाएन ? बहस गरौंला भनें । त्यसपछि उनीहरु गए । जाँदाजाँदै इन्स्पेक्टर भट्टले ‘मैले वीन वीन होस् भन्ने चाहेको छु’ भनेका थिए । मेरो मनले भने मिस्टर भट्ट, तिमी मेरो वर्गमित्र, भाइचारा होइनौ, दुस्मन हौ,तिमीले जित्छौं अथवा मैले जित्छु । एउटाले हार्नु अनिवार्य छ, भनिरहेको थियो ।

अदालतले पाँच दिन म्याद थपेको थियो । पाँचौ दिन अपरान्ह सरकारी वकिल कार्यालय लगियो । त्यहाँ फेरि उही ओनेवाङको प्रतिक्षालय आगजनीको विषय रहेछ । भवितव्यले जलेको आशय थियो । मैले सशस्त्र प्रहरीले आगजनी गरेको लेख भनें । त्यो लेख्न सक्दिन भनेपछि कागज फालिदिएँ । त्यसपछि उनीहरु केही क्षण हराए । असई आएर प्रश्न र उत्तर दुवै हटायौं,हस्ताक्षर गरिदिनुस् भन्न थाले । त्यसपछि इन्स्पेक्टर भट्ट आएर चेपारे घस्दै ‘रिसाउनु भयो है’ भन्न थाले । म आवेगमै थिएँ। मैले ‘सत्तासँग, गृहमन्त्रालयसँग संघर्ष हो, तिमी जाबो एउटा पुलिससँग रिसाउनु र खुसाउनुको मलाई के अर्थ छ र ?’ भनेपछि उनी रिसाए ।

अनुसन्धान कसरी गर्नुपर्छ मलाई पनि थाहा छ, इन्स्पटेक्टर भट्टको सेतो छालाभित्रको कालो स्वरुप प्रकट भयो । मान्छेको असलियत छिटो बुझ्न अति खुशी वा अति रुष्ट बनाउनुपर्छ भन्छन् ।‘मलाई पनि थाहा छ, उनी धम्की दिन थाले । कुमार पौडेलका हत्याराहरुले मलाई पनि मार्न सक्थे । मेरा कानुनी सहयोगी र सञ्चारकर्मीलाई परिस्थितिको जानकारी गराएर मात्र थप बोल्नुपर्ने सोचें । मलाई सरकारी वकिल कार्यालयको आँगनमा पुर्याउनासाथ इन्स्पेक्टर भट्टले,छिटो भित्र ल्याउनुस् कसैले फोटो खिच्ला भन्दै थिए । उनलाई सञ्चार र पारदर्शीतासँग त्रास थियो । लास जसरी अँध्यारो भुईमा सुताएर बयान लिए । बयान पढ्न सक्ने अवस्था थिएन । पढेर सुनाए । बयानमा अझै छलछाम कायमै थियो । अरु बाँकी अदालतमा लड्ने गरी सोच बनाएँ । अदालतको बरण्डामा सुताए । न्यायाधीश त्यहीँ आएर सोधपुछ गरेपछि तपाईंको स्वास्थ्य स्थिति हेरेर अदालत आउनु नपर्ने आदेश गर्छु । मलाई केही भन्नुपर्ने भए वकिल मार्फत् पठाउनु भनेर गए ।

पच्चिसौं दिन अदालत लगियो । मलाई राज्यविरुद्ध अपराध मुद्दा रहेछ । मैले कञ्चनपुरमा गोविन्द गौतमको हत्या हुँदा एक्लै स्थलगत भ्रमण गरेर फिचर बनाएको थिएँ । झापाको केचना, मोरङको बिराट, राजाको दरबार आसपास, तिलाठी सबैतिर पुगेर राष्ट्रियताको पक्षमा समाचार र विचार प्रवाह गरेको छु । ठोरीमा २०५१ मा भारतीयहरुले पिटेका थिए । ठोरीमा गौरव, विप्लव, दिवाकर धेरै नेतालाई लिएर गएको छु । हाम्रो प्रचारपछि बुद्धिनारायण श्रेष्ठ ठोरी पुगेर प्राविधिक रुपले कति जमिन मिचेको छ भन्ने कुरा सार्वजनिक गरेका थिए । २०६८ तिर माडीबाट २५ जना साथीसहित सोमेश्वर गढीमा खुकुरी, लाठी, गल, रड लिएर भारतीय अतिक्रमित ठहरा भत्काएका थियौं । बाल्मिकी आश्रम नेपालमा पर्छ भन्ने कुरा अझै धेरैलाई थाहा छैन । जहाँको प्रहरीले भारतको बाटो भएर जानुपर्छ । हामी त्यहाँ गएर दबाव सिर्जना गर्यौं । झोलुङ्ले पुलको लागि पहल गरेका थियौं । धेरैले मलाई ‘अखण्ड चितवन’ आन्दोलनसँग जोड्छन् ।

त्यो त उत्कर्ष मात्र थियो । मैले प्रहरीको आरोपको प्रतिवाद गर्दै मलाई पुरस्कृत गर्नुपर्छ । प्रहरीको आरोपले लेण्डुप दोर्जे प्रवृत्तिलाई प्रोत्साहित गरेको छ भनेको थिएँ । पुरानो संकिर्ण कार्यशैली अदालतमा थियो । बयान विषयमा प्रवेश नै गर्दो रहेनछ । अदालतमा मैले न्यायाधीशसँग मेरो लेख र कविता लुटिएको छ । कविता चोर्नेले सुन पनि चोर्छ । बौद्धिक सम्पत्तिको रक्षा संविधानले गरेको छ । तर प्रहरीले लुटेको, चोरेको छ, दिलाइदिनुस् भनेको थिएँ । न्यायाधीशले टाउको हल्लाए, भनेको बोलेको बुझिएन । चिनवनका एसपी नान्तीराज गुरुङलाई पनि प्रहरीले नै बौद्धिक सम्पत्ति कब्जा गर्यो,फिर्ता गर्नुस् भनेको थिएँ। राणा शासनको भूत घुमिरहेको यो सरकारले मेरो बौद्धिक सम्पत्ति चोरी गरेको छ । डाँका गणतन्त्रसँग जेल हिरासतमा संघर्ष जारी छ । धनुषा र काठमाडौंका सरकारी दूतहरु भरतपुर अस्पतालमा घुमिरहेको सूचना पाएको छु । सांसद अपहरण गर्ने गिरोहले कुनै पनि बेला मलाई पनि कुनै पनि समय अपहरण गर्न सक्छन् तर बाघको बच्चाले घाँस खाँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*