प्याड बनाउँछु, बोकेर हिँड्छु र बाँड्छु

ज्ञान महर्जन, अध्यक्ष, एक्सपोज नेपाल
[post-views]

ललितपुरको भैंसेपाटीका ज्ञान महर्जन प्याड म्यानको नामले परिचित छन् । एक्सपोज नेपाल नामक संस्थाका अध्यक्ष महर्जन महिला र महिनावारीका क्षेत्रमा क्रियाशील पुरुष हुन् । मर्यादित महिनावारीको नारा लिएर महिनावारीका बेला महिलाले प्रयोग गर्ने प्याड बनाउने, वितरण गर्ने र स्वच्छ महिनावारीका लागि चेतना बाँड्दै हिँड्ने महर्जन महिलालाई मात्र होइन, पुरुषलाई पनि प्याडको उपयोगिता, प्याडको प्रयोग र यसको व्यवस्थापनबारे ज्ञान हुनुपर्छ भन्ने मान्यता राख्छन् । महर्जनले मानवीय र वातावरणीय स्वास्थ्यका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्न सिकाउँदै आएका छन् । प्रस्तुत छ उनै ज्ञान महर्जनसँग अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर जनआस्थाका लागि गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं महिला र महिनावारीको क्षेत्रमा सक्रिय हुनुहुन्छ । कसरी र कहिलेदेखि ?

सन् २००७ तिर म महिलामाथि हुने हिंसाविरुद्ध काम गर्थें । विशेष गरी घरभित्रै हुने महिला हिंसा, सार्वजनिक स्थलमा हुने हिंसा, विद्यालयमा मेरा छात्रा साथीहरूमाथि भएका हिंसा, उनीहरूलाई पुरुषहरूको झुण्डले जिस्क्याउने अझ उनीहरू महिनावारीका बेला विद्यालयभित्रै असुरक्षित महसुस गर्ने उनीहरूको हाउभाउले मलाई सानैदेखि अलि प्रभाव परेको थियो । मैले सार्वजनिक बसमा यात्रा गर्दा पनि महिला यात्रुलाई गरिने व्यवहार देखेको थिएँ । जसले मलाई यस्ता व्यवहारविरुद्ध केही गर्नुपर्छ भन्ने मनमा परेको थियो । तर, गर्ने के ? समय बित्दै जाँदा महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न अभियान र कार्यक्रममा जोडिन पुगें एक्सपोज नेपाल नामक संस्थाको स्थापना गरेर । सन् २०११ देखि विशेषगरी यौनजन्य हिंसा अर्थात् यौनदुराचार र दुव्र्यवहारविरुद्ध काम गर्न थालें । काम गर्दै जाँदा लैंगिक हिंसाविरुद्ध काम गर्ने धेरै संस्था अगाडि आउन थाले । त्यतिबेला हामीले यातायात, विद्यालय लक्षित गरेर तत्कालीन गाविस र वडासँग मिलेर कार्यक्रम ग¥यौं । २००७ देखि १४ सम्म जनचेतना अभिवृद्धिकै काममा लाग्यौं । तर, जब सन् २०१४ मा जर्मनका संघसंस्थाले महिनावारीबारे यो एक हिंसा हो भनेर बोल्न थाले तब हामीले पनि सन् २०१५ को अन्त्यतिर नेपालमा पनि महिनावारीका विषयमा पो काम गर्नुपर्छ भन्ने ठान्यौं ।

नेपालमा महिनावारीका बेला हुने विभिन्न विभेदहरूले यो पनि एउटा हिंसा हो भनेर हामीले सन् २०१५ को अन्त्यदेखि नै यसविरुद्ध काम गर्न थाल्यौं । पहिलोपटक सन् २०१६ मा हामीले नेपालमा महिनावारीले महिलामाथि हिंसा बढाएको छ र यस हिंसालाई रोक्नुपर्छ भनेर ¥याली नै ग¥यौं ।

महिनावारीसँगै जोडिएको कुरा प्याड थियो । त्यतिबेला रक्तश्रावलाई व्यवस्थापन गर्न अधिकांश महिलाले कपडा प्रयोग गर्थे । पुराना कपडालाई टालोका रुपमा गरिएको प्रयोग त्यति व्यवस्थित थिएन । मैले देखेको थिएँ, स्कुलमा मेरा छात्रा साथीहरूको फ्रकमा रगतको टाटो लागेको । मैले देखेको थिएँ, आमा महिनावारी हुँदा रगत खुट्टासम्म चुहिएको । यस्ता थुप्रै घटना, जसले मलाई होइन, महिलाले महिनावारीका बेला प्रयोग गर्ने कपडाको टालोलाई व्यवस्थित, स्वस्थ र उपयोगी बनाउन कसरी सकिएला भनेर घोत्लिन थालें । त्यतिबेला शहर बजारमा भारतबाट आएका किनेर प्रयोग गरेर फाल्ने प्याडको प्रयोग पनि बढ्दै थियो । म ललितपुरको मान्छे । बजारक्षेत्रमा केही महिलाले बजारमा पाइने प्याड किने पनि त्यो सबै ठाउँकाले किन्छन् । किन्न सक्ने हैसियत छ र सबै ठाउँमा त्यो प्याड पुगेको छ भन्ने अवस्था थिएन । अहिले पनि कतिपय ठाउँमा प्याड पुगेको छैन । त्यसपछि नै कम खर्चको धेरै समय टिक्ने पुनः प्रयोग गर्न मिल्ले प्याड बनाउने कुरा खोज्न र बुझ्न थालें । पछि यही कपडाको प्याड बनाउने तालिम शुरु गरें । एउटा सानो सोच व्यवहारतः ठूलो बनेर सफल पनि भयो । आफैँले बनाउन थालें । मान्छेलाई भेटेर बाँड्न थाले । यसरी अगाडि आएको हुँ ।

यसरी काम गर्दा अप्ठ्यारा पनि आए होलान् । के कस्ता समस्या थिए ?

शुरु शुरुमा साह्रै गाह्रो भयो । महिलाले महिनावारी हुँदा के प्रयोग गर्छन् भन्ने नै त मलाई थाहा थिएन नि ! मलाई एक्ज्याक्ट महिनावारी हुँदा हुने प्रक्रियाको कुरा पनि त थाहा थिएन नि ! अनि मैले आमालाई सोधें । त्यसपछि श्रीमतीलाई सोधें । विस्तारै अरु दिदीबहिनीलाई सोधें । अफिस आउने महिला कर्मचारीलाई सोधें । त्यसपछि मोटामोटी प्याडबारेको कन्सेप्ट तयार भयो । अब कसरी जाने त ? भन्नेबारे अफिसकै महिला कर्मचारीसँग सल्लाह गरें । हामीले शुरुमा कपडा काटेर प्याडको आकार दिएर ९० जना महिलालाई बाँड्यौं । उनीहरूले त्यो प्रयोग गर्दा के भयो ? भन्ने अनुभवका आधारमा थप अगाडि बढ्यौं । त्यतिबेला दिमागमै प्याडको कुरा थियो । महिलासँग हुने कुरा पनि यिनै हुन्थे । अनि भेट्यो कि यसले त महिनावारी र प्याडबाहेक अरु कुरा गर्दैन यसको दिमागमा के होला भन्ने खालको कुरा उनीहरूबीच कुरा भएको थाहा पाएँ । मैले बोल्दा सोध्दा त्यसको असर नकारात्मक र झन् घातक पर्नेसम्मको अवस्था पनि नआएको होइन । मलाई देखेपछि मान्छे हाँस्नेसम्म स्थिति पनि आयो । यी सबै कुरा सम्झिएर र बताएर साध्य छैन । छाडौं ।

तपाईंले भनेझैं यस्ता समस्या आउन थालेपछि प्याडको काम पुरुषको होइन रहेछ । छाडौं भन्ने लागेन ?

होइन, मलाई एक त महिलामाथि हिंसाको कुराले पोलेको थियो । अर्को, महिनावारीको बेलाको विभेदले । अब विभेद हटाऊँ भनेर सचेतना जगाएर मात्रै विभेद हट्दैन भन्ने चेत मैले पाइसकेको थिएँ । महिनावारीका बेला प्रयोग गर्ने प्याड स्वच्छ होस् । खर्च कम होस् । सकेसम्म महिला आफैँ आफ्ना लागि प्याड बनाउन वा त्यो बिक्री गरेर पनि केही कमाउन सकुन । यसखालको मिसनमै थिएँ म । बजारमा आउने प्याड एक पटक प्रयोग गरेर फाल्नुपर्ने । फेरि त्यो फाल्ने कहाँ रगतले भरिएको टालो लुकीलुकी महिलाले फोहोरभित्र राख्ने गरेको त देखेको छु नि मैले । अनि प्याड किन्न हरेक महिना ३ देखि ४ सय रुपैयाँ पनि चाहियो । पैसा छैन भने कपडाको टालो प्रयोग ग¥यो त्यो पनि प्रयोग गरेपछि रगतले भरिएको टालो सफा गर्नै अप्ठ्यारो । सुकाउनै असहज महिलालाई । अनि मैले सोचें यही कपडालाई रुमालजस्तो बनाएपछि सफा गरेर सुकाउन पनि सजिलो । कपडाकै कभर तर रगत नचुहिने वाटरप्रुफ कपडा प्रयोग गरेर बनायो भने त अलि केही घण्टासम्म काम लाग्ने भयो भन्ने सोचेर हामीले बनाएका प्याडले अहिले ८ देखि १२ घण्टासम्म एउटा प्याडले काम गर्छ । प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग धुने । धुन सजिलो छ रुमालजस्तै हुन्छ । त्यसलाई घाममा सुकाउने र आइरन गरेर राखेपछि अर्को महिना फेरि प्रयोग गर्ने । यो दुई वर्षसम्म काम गर्छ । भिजनसहितको मिसनले नै प्याडको काम अघि बढेको हो ।

तपाईंलाई प्याड म्यान पनि भन्छन्, यो नामचाहिँ कसरी रहन गयो ?

हाहा, हो, यो नामको कथा पनि रोचक छ । तपाईंजस्तै पत्रकारका कारण भनौं न । काम गर्दै जाने क्रममा एकपटक २०७४ सालतिरको कुरा हो । नागरिक आवाजमा पत्रकार श्रीराम पौडेलले मेरो अन्तर्वार्ता लिनुभएको थियो । त्यो बेला उहाँले तपाईंलाई मैले नेपाली प्याडम्यान भनेर सम्बोधन गर्छु भन्नुभयो । अन्तर्वार्ता सकियो । त्यसपछि हिमाल खबर पत्रिकाले पर्दाबाहिरका प्याडम्यान भनेर फिचरिङ ग¥यो । त्यसको केही पछि काठमाडौं पोस्ट्ले पनि ‘मिट नेपाली प्याड म्यान’ भनेर स्टोरी ग¥यो । त्यसपछि नै हो, प्याड म्यान भनेको को त भन्दा ज्ञान महर्जन भन्ने भएको । प्याड म्यान हिन्दी सिनेमाको कुरासँग जोडिन्छ यो उपनामचाहिँ । म प्याड बनाउँछु, बोकेर हिँड्छु बाँड्छु पनि प्याडकै कुरा गर्ने पुरुष हुँ अर्थात् प्याड म्यान ।

तपाईं प्याड बनाएर बिक्री वितरण गर्नुहुन्छ ? यो त अरूजस्तै व्यापार नै त भयो नि होइन र ?

होइन होइन, एक्सपोज नेपालले त प्याड बनाउने बेच्ने व्यापार गर्ने होइन । हामी प्याड बनाउन महिला तथा पुरुषलाई तालिम दिन्छौं । उहाँहरूमार्फत नै बिक्री वितरण हुने हो । उहाँहरूले बेच्न सक्नुभएन भने हामीले लिन्छौं र सम्भव भएसम्म त्यो बिक्री हुने माध्यम पहिल्याइदिन्छौं । अहिलेसम्म हामीले आफँै सिकाएका महिला तथा पुरुषले बनाएका प्याड बेच्नुपरे भनेर एउटा छुट्टै च्यारिटी सप खोल्यौं । हामी संस्थाबाट सिकाउँछौं । सीपका लागि आवश्यक सबै सामग्री दिन्छौं तर उहाँहरूले तयार गरेको सामान यदि बिक्री गर्न सक्नुभएन भने बेच्नका लागि भनेर पसल खोल्यौं र त्यहाँ अरु २⁄३ जना दिदीबहिनीले काम गर्नुभयो । हामीले अहिलेसम्म करिब २७ सय जनालाई तालिम दिइसकेका छौं । २२ जना प्रशिक्षक नै तयार गरेका छौं ।

लकडाउनको समयमा के गरिरहनुभएको छ ?

लकडाउनको समयमा पनि हाम्रो सम्पर्कमा रहनुभएका दिदीबहिनीले घरमै बसेर प्याड बनाउने काम गरिरहनुभएको छ । हामीले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर अपांगता भएका व्यक्ति जो प्याडकै लागि बाहिर पसलसम्म जाने अवस्थामा छैनन् उनीहरूलाई, लकडाउनको बेला फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरी पत्रकारलाई केही प्याड पनि वितरण गरेका छौं । यसबाहेक विभिन्न संघसंस्थाले हामीसँग बनेका प्याडहरू माग्नुभएको छ र हामीले उपलब्ध गराएका छौं । त्यसबाहेक पनि महिनावारीका बेला स्वास्थ्य संयमता अपनाउन भनेर समय–समयमा विभिन्न सूचना जारी गरेका छौं । किनभने लकडाउन भए पनि महिनावारीको समस्या रोकिँदैन । यसलाई सही तरिकाले व्यवस्थापन गर्न घरमै बसेर पनि आफँै प्याड बनाउन सकिन्छ भन्ने सन्देश विभिन्न माध्यमबाट प्रवाह गरिरहेका छौं ।

तपाईं पुरुषलाई पनि प्याड बाँड्नुपर्छ भन्ने गर्नुहुन्छ ? किन ?

हो, मैले पुरुषलाई प्याड बाँड्नुपर्छ भन्ने गर्छु । आफूले बाँड्छु पनि । बाँड्नुको मतलव फ्रि मा घरघरमा लगेर दिनुपर्छ भनेको होइन । महिलाको मात्र आवश्यकताको सामान उनीहरूले मात्र किन्नुपर्छ भन्ने मान्यतालाई चिर्न खोजेको हो । हाम्रो मुलुक पुरुष प्रधान हो, प्रायः घरमा आवश्यकताको सामान पुरुषले किन्ने वा जोहो गर्ने प्रचलन छ । यदि, प्याडबारे पुरुषले बुझ्ने हो भने यो पनि घरमा आवश्यक सामानमध्ये एकमा पर्छ र महिनावारीका बेला महिलामा हुने विभेद केही हदसम्म स्वतः अन्त्य हुन्छ । घरमा सुर्ती चुरोड बरु किन्ने पुरुषले नुनतेलसँगै प्याडलाई पनि आवश्यकीय सामग्रीको सूचीमा राख्नुपर्छ भन्ने मेरो मान्यता हो । एउटा पुरुषले घरमा आमा श्रीमती छोरी बहिनीलगायतलाई आवश्यक पर्ने सामानलाई आवश्यकताको सामग्रीको सूचीमा प्याडलाई राख्नु त समाज रुपान्तरणको एउटा चरण हो नि ! मैले देखेको कतिपयले यो तर्कलाई हाँसोका रुपमा पनि लिनुहुन्छ । तर, म अरुको हाँसोको पछाडि लाग्दिनँ । प्याडलाई अझै पनि लज्जाको विषय बनाइन्छ । प्याड लज्जाको साधन पनि होइन विषय पनि होइन ।

अब कसरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ त ?

मेरो अहिलेको प्रयास भनेको पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग बढाउने जसले महिलाको स्वास्थ्य पनि र वातावरणको स्वास्थ्यमा पनि राम्रो गर्छ । र, त्यो प्याड सकेसम्म महिलाहरू आफ्ना लागि आफँै बनाउन सकुन् भन्ने हेतुले तालिमलाई नै तीव्र बनाउने हो । किनभने नेपाली बजारमा नेपालको उत्पादन प्याड नहुँदा भारत तथा अन्य देशबाट आएको केमिकलयुक्त प्याड प्रयोग भइरहेको छ । यसले एउटा त मानव स्वास्थ्य र अर्को वातावरणीय स्वास्थ्यमा असर गर्छ र यो खर्चालु पनि छ । खर्च र स्वास्थ्यमा मितव्ययी पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगलाई वृहत्तर बनाउन अहिले त लकडाउनले केही असर गरेको छ । यसपछि थप योजनासहित लाग्नेछु ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*